मुडा र थुन्से बुनेर आम्दानी गर्दै कैदीबन्दी

–पेमा लामा 

बनेपा, १३ चैत ।  जिल्ला कारागार धुलिखेल काभ्रेपलाञ्चोकमा रहेका कैदीबन्दी थुन्से, मुडा र पोते बुनेर आम्दानी गरिरहेका छन् । उनीहरुलाई कारागार प्रशासनले विभिन्न सीपमूलक काम गर्न प्रेरित गरेर सो आम्दानी गर्ने माध्यम बनाएका हुन् ।

उनीहरुको आचरणमा सुधार गर्नका लागि बचेको समयलाई आर्थिक उपार्जनमा लगाएपछि सीपमूलक काममा व्यस्त भएको कैदीबन्दीको भनाइ छ । बहुविवाह मुद्दामा काभ्रेपलाञ्चोकको धुलिखेलस्थित जिल्ला कारागारमा बन्दी जीवन बिताइरहेका हिक्मतसिं लामा भन्नुहुन्छ, “दुर्ई जनाले दिनमा ४०÷४१ सम्म थुन्से बुन्दै आएका छौँ”, दिनको एक जनाले २०÷२१ सम्म बुन्ने गरेको उहाँको भनाइ छ ।

बन्दी जीवनमा परेपछि त्यतिकै बस्नुभन्दा केही गर्नुपर्छ भन्ने हेतुले चार महीना अगाडिदेखि उक्त काम गरिरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार चोया काट्ने अर्कै, बिट गर्ने अर्कै र बुन्नका लागि चकटी बनाउने अर्कैले गर्दछ । त्यसरी काम गरेबापत दिनको रु १०० देखि १२० सम्म कमाइ हुन्छ । “कमाएको पैसाले जेलभित्रको खानाखाजाको अतिरिक्त खान मन लागेको खाजा खाने र बाँकी रहेको पैसा घरमा श्रीमतीलाई पठाउने गरेको छु”, उहाँले भन्नुभयो ।

अर्का ज्यान मुद्दामा बन्दी जीवन बिताइरहेका रामकृष्ण न्यौपानेले छ÷सात महीना अगाडिदेखि थुन्से बुन्ने काम गरेको बताउनुभयो । कारागारभित्रै थुन्से बुन्ने सीप सिकेको बताउने उहाँले सो कामबाट महीनाको रु दुई÷तीन हजार आम्दानी गरेको बताउनुभयो । “कमाएको सबै पैसा घरमा पठाउँछु”, उहाँले भन्नुभयो ।

त्यसैगरी बालविवाह मुद्दामा बन्दी जीवन बिताइरहेका राम दनुवारले कारागारभित्रैको सोही ठाउँको अर्को कुनामा मुडा बुन्ने काम गर्नुभएको छ । दिनको एक÷दुईसम्म मुडा बुन्ने गरेको बताउने उहाँले सो कामबाट आम्दानी गर्न सजिलो भएको बताउनुभयो । “यही आएर मुडा बुन्ने सीप सिकेको हुँ”, उहाँले भन्नुभयो, “एउटा मुडा सकाएको रु २०० पाउँछु, महीनाको काम हेरेर रु छ हजारदेखि आठ हजारसम्म कमाउँछु ।” कमाएको सबै पैसा घरमा पठाउने गरेको उहाँको भनाइ छ । त्यसरी काम गरेको दुई÷तीन महीना भएको बताउनुभयो । उहाँका अनुसार मुडा बुन्ने काममा चार÷पाँच जना लाग्ने बताउनुभयो ।

अर्का बन्दी जीवन बिताइरहेका सुप्रिम वाइबाले १५ महीना अगाडिदेखि निरन्तर मुडा बुन्ने काम गर्दै आउनुभएको छ । त्यहीँ सीप सिकेर निरन्तररूपमा काम गरिरहनुभएका उहाँले दिनको रु १५० देखि २०० सम्म कमाउने गरेको बताउनुभयो । “राम्रोसँग सीप सिक्न एक महीना लाग्यो”, उहाँले भन्नुभयो, “अहिले दिनको दुई÷तीन सम्म मुडा तयार गर्छु, यही पैसाबाट क्याम्पस पढिरहेको छु ।”

जबर्जस्ती करणी मुद्दामा बन्दी जीवन बिताइरहेका उहाँ त्यसरी काम गरेसँगै क्याम्पससमेत अध्ययन गरिरहेको बताउनुहुन्छ । “अहिले कक्षा ११ मा ग्रामीण विकास विषय लिएर पढ्दै आइरहेको छु”, उहाँले भन्नुभयो, “बिहान उठेर बाहिर निस्केपछि ७ बजेबाट काम गर्ने र बेलुका भित्र पसेपछि फुर्सद भएको बेलामा पढ्ने गर्छु ।”

कारागारभित्रका मुडा बुन्ने काम हेर्ने संयोजक सुरज थापाले एउटा मुडा बनाएबापत रु १६० पाउने गरेको बताउनुभयो । सामान ल्याएको पैसा कटाएर बाँकी बचेको पैसा उनीहरुले नै पाउने गरेको उहाँको भनाइ छ । बाँस, रङ्ग, धागोलगायतका सामान बाहिरबाट ल्याएर बनाउने गरेको थापाले बताउनुभयो । उहाँका अनुसार त्यसरी बनाएको मुडा प्रतिगोटा रु ४५० मा बिक्री हुन्छ । दिनको २५÷३० मुडा उत्पादन हुने उहाँको भनाइ छ ।

“पानी पर्दा कहिलेकाहीँ रोकिनेबाहेक अरु बेला निरन्तर रूपमा काम भइरहन्छ”, थापाले भन्नुभयो, “कच्चा पदार्थ बाहिरबाट ल्याउनुपर्ने भएकाले कहिलेकाहीँ काम नहुने हुन्छ, त्यसबाहेक काम निरन्तर चलिरहेको छ ।”

जिल्ला कारागार प्रमुख जङ्गबहादुर राईले कारागारमा कैदी बन्दी जीवन विताईरहेकाहरुलाई निस्केको समयलाई कसरी उपयोग गर्ने भन्ने हिसाबले सीपमूलक कामलाई प्राथमिकता दिएको बताउनुभयो । आफु प्रमुख भएर आएको वेला २०÷२५ जनाले मुडा र थुन्से बुन्ने काममा ब्यस्त रहेको पाईएकामा आफु आएपछि त्यसलाई बढावा दिदै लगेको बताउनुभयो । ब्यक्तित्व विकास, आचरण सुधार गर्दै फुसर्दको समयलाई कसरी सदुपयोग गर्ने भन्ने कुरालाई उपयोग गर्नका लागि सीपमूलक काम आवश्यक रहेको उहाँले बताउनुभयो । ‘भएका कैदी बन्दीहरुमध्ये अहिले ४०÷५० जना मुडा र थुन्से बनाउने काममा संलग्न भईसकेको छ ।’ उहाँले भन्नुभयो, ‘ब्यक्तिगत रुपमा संगठनको हितको लागि पहल गर्ने क्रममा मैले विगत दुई महीनादेखि पोते उन्ने कामको ब्यवस्था गरेर काम भईरहेको छ ।’
उत्पादन भएको सबै सामानहरु त्यहीबाट विक्री भईरहेको जिल्ला कारागार प्रशासनले जनाएको छ ।
पोते उन्ने काम भने शुरुवाती चरणमा भएकाले त्यति कमाउने अवस्था नभएको र अरुमा भने कमाई राम्रो भईरहेको उहाँको भनाई छ । कारागारमा भएका २३० जना मध्ये थुनुवा(बन्दी) ७९ जना र कैदी १५१ जना रहेका छन् । आफैले गर्दै आएको साप्ताहिक रुपमा अनुगमन निरीक्षणको क्रममा पनि काम गर्नेहरुलाई उत्साह र उत्प्रेरणा दिदै आएको बताउनुभयो । अब बिस्तारै त्यसलाई बढाउँदै लाने उहाँले बताउनुभयो ।
सामुदायिक स्वास्थ्य एकाइलाई जग्गा
बेथानचोक गाउँपालिका वडा नं. ४ को पटगाउँवेशीमा स्थापना गरिएका सामुदायिक स्वास्थ्य इकाईको भवन निर्माणका लागि आवश्यक रहेको जग्गा वडा अध्यक्षले आफ्नो तलबबाट खरिद गरि प्रदान गरेका छन् ।
वडा नं. ४ का वडा अध्यक्ष लालबहादुर श्रेष्ठले स्थानीय रामकृष्ण मास्केको नाममा रहेको कित्ता नं. ४८७ रहेको चार आना जग्गा दुई लाखमा खरिद गरी ईकाइको भवन निर्माण गर्नका लागि सहज बनाएको बताउनुभयो । ‘स्थानीयबासिन्दाहरुको आधारभूत स्वास्थ्य सेवा पाउने अधिकारलाई सुनिश्चित गर्नका लागि सामुदायिक स्वास्थ्य इकाई त स्थापना ग¥यौ तर कार्यालय बनाउनका लागि जग्गा नभएपछि आफ्नै तलबबाट आएको पैसाले जग्गा खरिद गरिदिएको हुँ ।’ श्रेष्ठले भन्नुभयो, ‘ईकाई स्थापना भएपछि अहिले स्थानीयको घर निशुल्क रुपमा उपलब्ध गरी सेवा प्रदान गरिरहेको छ ।’ सो ईकाइ करिश ढेड महिना अगाडी स्थापना गरिएको हो ।
जग्गा खरिद गरेपछि सोमवार नै स्थानीयबासिन्दा उत्तम तामाङको अध्यक्षतामा ९ जना रहेको भवन निर्माण समिति गठन गरेको उहाँले बताउनुभयो ।
–––