भ्याट कार्यालयमा दर्ता विनै भरतपुर महोत्सव

आनन्द पोखरेल 

चितवन, ११ चैत । भरतपुरमा जारी पाँचौँ भरतपुर महोत्सव आन्तरिक राजस्व कार्यालय, भरतपुरको अस्थायी भ्याटमा दर्ता नभइ सञ्चालन गरेको पाइएको छ ।
अस्थायी रुपमा आयोजना गरिने मेला, महोत्सवहरु राजस्व कार्यालयबाट अस्थायी भ्याट नम्बर लिएर सञ्चालन गर्नुपर्ने भएपनि भरतपुर महोत्सवले राजस्व कार्यालयमा जानकारी समेत नगराएको आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख कर अधिकृत शुभप्रसाद रिजालले जानकारी दिए । यसरी हेर्दा भरतपुर महोत्सवले सरासर कर छली गरेको पाइएको छ । महोत्सव करको दायरामा नआएकाले करको दायरामा ल्याउने कोसिस गर्ने रिजालले बताएका छन् ।
भरतपुरको केन्द्रीय बस टर्मिनल नजिकको राष्ट्रिय सहकारी विकास बोर्डको खाली मैदानमा गत चैत ३ गतेदेखि सुरु भएको भरतपुर महोत्सव आजसम्म अस्थायी करमा दर्ता नभएको रिजालले पुष्टि गरे । ‘भरतपुर महोत्सव कसले सञ्चालन गरेकोे हो, आयोजक को हो हामीलाई थाहा नै छैन’ रिजालले भने, –‘महोत्सवको बारेमा अब सोधखोज गरेर हामीले करको दायरामा ल्याउने कोशिस गर्छौँ ।’ आर्थिक कारोबार हुने अस्थायी प्रकृतिका मेला महोत्सवहरु अनिवार्य रुपमा राजस्व कार्यालयमा गएर अस्थायी मूल्य अभिवृद्धि कर नम्बर लिनुपर्ने कर ऐनले व्यवस्था गरेको रिजालको भनाइ छ ।
मूल्य अभिवृद्धि कर ऐन २०५२ को संशोधन २०७५ दफा १०(क) मा अस्थायी दर्ता सम्बन्धी विशेष व्यवस्था गरेको छ । विशेष व्यवस्थाको एक नम्बरमा ‘अस्थायी रुपमा आयोजना गर्ने प्रदर्शनी, मेला तथा अन्य यस्तै कारोबारका हकमा कारोबार शुरु हुनुभन्दा अगावै आयोजक तथा त्यस्तो आयोजनामा कर लाग्ने वस्तु वा सेवाको कारोबार गर्ने मुल्य अभिबृद्धि करमा दर्ता नभएको व्यावसायी तोकिए बमोजिम मुल्य अभिबृद्धि करमा अस्थायी दर्ता हुनुपर्नेछ’ भनी उल्लेख गरिएको छ । तर भरतपुर महोत्सवले आन्तरिक राजस्व कार्यालयलाई करको विषयमा जानकारी नै नगरी महोत्सव आयोजना गरेको हो ।
यता महोत्सव आयोजक युवा समाज भरतपुरका अध्यक्ष असिम भट्टराईले भने संशोधिन ऐन अनुसार महोत्सव राजस्व कार्यालयमा अस्थायी दर्ता गर्नु नपर्ने दावी गरे । महोत्सव सञ्चालनका लागि स्थानीय तहले नै स्वीकृति दिने भएकाले मनोरञ्जन, आय कर र टिकटमा लाग्ने करहरु भरतपुर महानगरमा बुझाइने भट्टराईको भनाइ छ । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद सुवेदीले मनोरञ्जन कर र बहालकर बुझाउने गरी महोत्सव सञ्चालनको स्वीकृति दिइएको बताए ।
मेयर स्तरीय निर्णयबाट भरतपुर महोत्सव सञ्चालनका लगि अनुमति दिने निर्णय भएको महानगरपालिकाले जनाएको छ । त्यस्तै, धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई नाफाको २५ प्रतिशत बजेट सहयोग गर्ने सहमती पनि भएको सुवेदीले जानकारी दिए । यस भन्दा अगाडि जिल्लामा सञ्चालन भएका मेला महोत्सवले स्थानीय प्रशासनसँग अनुमति लिने गरेको भएपनि भरतपुर महोत्सवले भरतपुर महानगरसँग मात्रै अनुमति लिएको छ ।
जिल्ला प्रशासन कार्यालयबाट शान्ति सुरक्षाका लागि व्यवस्था मिलाइएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले स्थानीय प्रशासनले शान्ति सुरक्षाका लागि प्रहरीलाई पत्राचार गरिदिएको तर अन्य स्वीकृति स्थानीय तहबाट भएको बताए । चैत १३ गतेसम्म सञ्चालन हुने महोत्सव प्रवेशका लागि ५० रुपैयाँ टिकटको व्यस्था गरिएको छ भने महोत्सव भित्र मनोरञ्जनात्मक क्रियाकलाप समेत हुने गरेको छ ।