एम्बुलेन्स चालकबीच अन्तरक्रिया

चितवन, १० चैत । संयुक्त एम्बुलेन्स चालक संघ नेपालले संशोधित सवारी ऐन २०७५ का कारण चालक मजदुरहरुलाई पर्न गएको समस्या र समाधान विषयमा अन्तरक्रिया गरेको छ ।
आइतबार भरतपुरमा आयोजना गरिएको अन्तरक्रियामा एम्बुलेन्स चालकहरुले सडकको अवस्थाका कारण दुर्घटना हुने गरेको बताए । चालकहरुको लापरबाहीले मात्रै दुर्घटना नहुने उल्लेख गर्दै एम्बुलेन्स चालकहरुले सडकमा प्रतिस्पर्धाका कारण, सवारी साधनलाई उछिन्दा तथा सवारी साधन सूचकको प्रयोगमा ख्याल नगरी सवारी साधन गुडाउँदा दुर्घटना हुने गरेको चालकहरुको भनाइ छ । सरकारले ल्याएको नीतिले एम्बुलेन्स चालकहरु मर्कामा परेकाले त्यसको संशोधन गर्नुपर्नेमा चालकहरुले जोड दिए ।
एम्बुलेन्स चालकहरु एकजुट भएर अगाडि बढ्नुपर्ने केन्द्रीय अध्यक्ष नवराज लामिछानेले बताए । सवारी चालकले सवारी साधन चलाउँदिन भन्न पाए पनि सवारी धनीले सवारी साधन चलाउँदिन भनेर भन्न नपाउने लामिछानेको भनाइ थियो । सो कार्यक्रममा विभिन्न यातायात व्यवसायीका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।