क्षयरोग नियन्त्रणमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण

चितवन, १० चैत । नेपालमा वर्षेनि ४५ हजार भन्दा बढी नयाँ क्षयरोगका बिरामीहरु थपिने भएकाले क्षयरोगको नियन्त्रणमा पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको सरोकारवालाहरुले बताएका छन् ।
विश्व क्षयरोग दिवसको अवसर पारेर आज भरतपुरमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा समाजमा जनचेतना जगाउँदै क्षयरोग नियन्त्रणमा पत्रकारहरुले सहयोग गर्नुपर्ने बताइएको हो । प्रदेश नम्बर ३ अन्तर्गत स्वास्थ्य निर्देशनालयका प्रमुख स्वास्थ्य निर्देशक मोहम्मद दाउदले क्षयरोग नियन्त्रणका लागि अर्बौँ रुपैयाँ खर्च गर्दा समेत यसको न्यूनीकरण नभएकाले समाजमा बस्ने हरेक व्यक्ति क्षयरोग नियन्त्रणका लागि लड्नुपर्ने बताए । स्वास्थ्यकर्मी, पत्रकार लगायत सबै क्षेत्रका व्यक्तिले सामुहिक रुपमा लागेको खण्डमा मात्रै क्षयरोगबाट मुक्ति पाउन सकिने दाउदले बताए ।
कार्यक्रममा स्वास्थ्य कार्यालय भरतपुरका क्षयरोग फोकल पर्सन जयराम दुवाडीले चितवनमा एक हजार ७० जनामा क्षयरोगको सङ्क्रमण देखिएको बताए । क्षयरोग परीक्षणका लागि जिल्लाका २२ ठाउँमा ल्याबबाट तथा चार ठाउँमा जिन एक्स्पोर्ट मेसिनबाट निशुल्क क्षयरोग परीक्षण भइरहेकोमा ५९ स्थानबाट निशुल्क रुपमा क्षयरोगको औषधि वितरण भइरहेको दुवाडीले जानकारी दिए ।