चितवनका पाँच स्थानीय तह दमकलविहीन

–किशोर खनाल

भरतपुर,९ चैत । गर्मी बढिरहेको छ, हावाहुरीको मौसम पनि सुरू भइसकेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै स्थानीय तहलाई हावाहुरीको मौसम सुरू भइसकेकाले २४ घन्टा बारूणयन्त्र ९दमकल०को व्यवस्था गर्न निर्देशन दिएको छ ।

तर, चितवनजस्तो गर्मी जिल्ला, जहाँ आगलागीको ठूलो डर भइराख्छ यस्तो ठाउँमा जम्मा तीनवटा दमकल छन् । भरतपुर महानगरपालिकामा दुईवटा र माडी नगरपालिकामा एउटामात्र दमकल छ । चितवन पूर्वका रत्ननगर, खैरहनी, राप्ती, कालिका नगरपालिका र एक गाउँपालिका इच्छाकामना दमकलविहीन अवस्थामा छन् ।

चितवन पूर्वका चारवटा नगरपालिकाले मिलेर दमकल खरिद गर्ने निर्णय गरेको झन्डै ६ महिना भयो, तर हालसम्म आएको छैन । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले दमकल खरिद गर्ने निर्णय गरे पनि नआइसकेको बताए । उनले भने, ‘अझै प्रक्रियामा छ, अब त केही दिनमा आउनुपर्ने हो, ढिलाइ हुनुको कारण खोजिन्छ ।’

पूर्वका चार नगरपालिकाले झन्डै ६ महिनाअघि कालिका नगरप्रमुख खुमनारायण श्रेष्ठको संयोजकत्वमा दमकल खरिद गर्ने समिति बनाएको थियो । सो समितिले हालसम्म दमकल ल्याउन सकेको छैन ।

कालिका नगरप्रमुख खुमनारायण श्रेष्ठले भने, ‘दमकल खरिदको प्रक्रिया निकै लामो र झन्झटिलो हुँदोरहेछ, टेन्डर गरेर ठेकेदारसँग सम्झौता भइसकेको छ, तर हालसम्म आएको छैन ।’

उनले आफू यस विषयमा अत्यन्तै चिन्तित रहेको बताए । उनले थपे, ‘हामीले ठेकेदारलाई चैतसम्म जसरी नै ल्याउन भनेका छौँ, उसले वैशाखको पहिलो हप्तासम्म भनेको छ, अब आउला ।’

दमकल खरिदका लागि ९८ लाखमा ठेकेदारसँग सम्झौता गरेको उनले जानकारी दिए । प्रमुख श्रेष्ठले भने, ‘अहिले एउटा आए पनि चारवटा नगरलाई एउटा दमकलले धान्न सक्दैन, बर्सेनि अरु दमकल खरिद गर्ने चार नगरको योजना छ ।’ सरकारले प्रत्येक स्थानीय तहमा एक दमकल अनिवार्य राख्न सर्कुलर गरेको छ ।

भरतपुर महानगरले केही दिनअघि एउटा नयाँ दमकल खरिद गरेको छ । एउटा २१ वर्ष पुरानो दमकल धिकिरधिकिर चलिरहेको छ । एउटा बिग्रेर बसेको वर्षौं भयो । भरतपुर महानगरका प्रवक्ता अरूण पीडित भण्डारीले भने, ‘एउटा नयाँ आयो, अर्को पुरानो भए पनि चलेको छ, बिस्तारै अरु ल्याउन पहल भइरहेको छ ।’

भरतपुर महानगरमा ७ लाख बढी जनसंख्या छ । यहाँ कृषि क्षेत्र बढी छ, जसका कारण किसानको धानको कुनियूँदेखि टौवासम्म प्रशस्त छन् । आगलागीको ठूलो डर छ । गोलाघाटमा आगो लाग्यो भने महानगरमा भएको दमकल त्यहाँ पुग्दा ९२८ किलोमिटर टाढा० जलेर खरानी भइसक्छ । प्रवक्ता भण्डारी भन्छन्, ‘महानगरको पश्चिमी क्षेत्रमा एउटा छुट्टै दमकल आवश्यक छ । महानगरमा भएको दमकल त्यहाँसम्म पुग्दा घरगोठ जलेर सकिन्छ ।’

प्रवक्ता भण्डारीले भरतपुर महानगरमा मात्र कम्तीमा चारवटा दमकल चाहिने बताए । उनले भने, ‘जनसंख्या, भुगोल हेरेर दुईवटा दमकलले पुग्दैन, थप्ने योजना छ । भारतीय दूतावासले दिने कुरो पनि छ, तर नदिए पनि हामी आफैँ खरिद गर्छौं ।’

माडी नगरपालिकामा पनि एउटा दमकल छ । तर, त्यो दमकलमा नगरपालिकाको अर्को जनेरेटरले पानी तान्नुपर्ने अवस्था छ । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले भने, ‘माडीका सबै क्षेत्रमा दमकल जाँदैन, जाने ठाउँमा एउटा दमकलले पुगिरहेको छ ।’

अन्तर्राष्ट्रिय मापदण्डअनुसार ६० हजार जनसंख्याबराबर एक दमकल हुनुपर्छ । यो हिसाबले चितवनमा १० वटाभन्दा बढी दमकल चाहिन्छ । तर, हाल तीनवटा दमकलको भरमा जिल्ला चलेको छ ।

जिल्लामा प्रत्येक वर्ष साना–ठूला गरी झन्डै एक सय आगलागीका घटना भइरहेका छन् । बस्ती घना हुँदै गएको छ, यस्तो अवस्थामा दमकल अभाव हुँदा सरोकारवालाले चिन्ता व्यक्त गरिरहेका छन् । चितवनपोष्टमा खबर छ ।