चितवनमा जातिभेद उन्मूलन दिवस मनाइयो

चितवन, ७ चैत । राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावलले दलित आन्दोलबाट प्राप्त अधिकारलाई संस्थागत गर्नतर्फ लाग्नुपर्ने बताएकी छिन् ।

लामो समयसम्म भएको आन्दोलनबाट प्राप्त भएको नेपालको संविधान २०७२ ले दलितहरुका लागि धेरै व्यवस्था गरेको रावलले बताइन् । चितवनको भरतपुरमा विहीबार आयोजना गरिएको ५४ औँ अन्तर्राष्ट्रिय जातिभेद उन्मूलन दिवसका अवसरमा रावलले प्राप्त उपलब्धीको प्रभावकारी प्रयोग गर्दै समाजमा हुने विभेदहरु सहन नहुने उल्लेख गरिन् ।

दलित विरुद्ध हुने संवेदनशील घटनाहरुका विरुद्ध पीडितले समेत आवाज उठाउनुपर्ने उल्लेख गर्दै रावलले आफ्नो समितिले समेत त्यस्तो विषयमा संसदमा, सरकारमा आवाज उठाउने बताइन् ।   कार्यक्रममा उपेक्षित उत्पीडित दलित वर्ग उत्थान विकास समितिका कार्यकारी निर्देशक डाक्टर वुद्धि नेपालीले संयुक्त राष्ट्र संघले दक्षिण एशीयाको दलितको मुद्दालाई उठान गर्न नसकेको बताए ।

दक्षिण एशीयामा नै छुवाछुतको घटनाहरु धेरै भएकाले यसको अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा नेपालीले जोड दिए । विहीबार परेको ५४औँ अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसका अवसरमा भरतपुरको चौबिसकोठीबाट अस्प्ताल रोड, जिल्ला प्रहरी कार्यालय हुँदै जिल्ला समन्वय समितिसम्म ¥याली समेत निकालिएको थियो ।

नेपाल उत्पीडित जतीय मुक्ति समाज चितवन र नेपाल दलित मुक्ति मोर्चा चितवनको संयुक्त आयोजनामा भएको कार्यक्रममा दलित अगुवाहरुले छुवाछुतलाई अन्त्य गर्नका लागि जनप्रतिनिधिहरुले भूमिका खेल्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका नेता तेजेन्द्रबहादुर खड्का, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, कमला घतानेलगायतले मन्तव्य राखेका थिए । नेपाली दलित आन्दोलन आन्दोलनका उपलब्धी चुनौती र आगामी कार्यदिशा विषयमा खेम बहादुर दर्जी, सहदेव लकान्द्री तथा टुलकप्रसाद विश्वकर्माले कार्यपत्र प्रस्तुत गरेका थिए । नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज चक्र रुचालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उत्पीडित जातीय मुक्ति समाज चितवनका अध्यक्ष विजय कुमार विश्वकर्माले स्वागत मन्तव्य राखेका थिए ।