प्रदेश सांसद सुवेदीद्वारा जन्म दिनमा अंग दान

चितवन, ०५ चैत । प्रदेश नम्बर ३ का सांसद विजय सुवेदीले आफ्नो जन्म दिनको अवसर पारेर अंगदान गरेका छन् ।
सांसद सुवेदीले मृत्यु पर्यान्त आफूले दान गरेको अंगले अन्य व्यक्तिको जीवनमा खुसी मिल्न सक्ने बताए । व्यक्ति मरेपछि खेरजाने अंगहरु दान गरेको अवस्थामा मुटु, कलेजो, फोक्सो, मिर्गौलालगायतका अंगहरु दान गरेको अवस्थामा बिरामीले नयाँ जीवन पाउने बताए । भरतपुर अस्पतालमा आज विशेष कार्यक्रम गर्दै सांसद सुवेदीले आफूले अंग दान गर्ने इच्छापत्र अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट प्राध्यापक डाक्टर कृष्णप्रसाद पौडेललाई हस्तान्तरण गरेका हुन् ।
व्यक्तिले एकअर्कालाई बाँच्नका लागि सम्भव हुने वस्तुहरु सहयोग गर्नुपर्ने सुवेदीको भनाइ छ । केन्द्रीय अस्पतालको रुपमा मान्यता पाएको भरतपुर अस्पतालले भविष्यमा अंग प्रत्यारोपण गर्न सक्ने गरी संरचनाहरु निर्माण गर्दै जाने अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट प्राध्यापक डाक्टर कृष्णप्रसाद पौडेलले बताए । चितवनमा पहिलो पटक सांसद सुवेदीले मृत्यु पर्यान्त अंगदान गरेका हुन् ।