१ रुपैयाँमै स्यानटरी प्याड: सिक्का खसाल्नुस्, प्याड लिनुस्

काठमाडौं, ४ चैत ।  हामीलाई थाहा छ – महिनावारीका कारण नेपालका कतिपय ठाउँमा छात्रा विद्यालय जान सकेका छैनन् । यसले महिनामा एउटी छात्राको करिब ४/५ दिन पठनपाठन रोकिन्छ ।

तर रुपन्देही भैरहवास्थित बुद्धज्योती माध्यमिक विद्यालयका विद्यार्थी महिनावारीको समस्याबाट मुक्त हुन पाएका छन् । यो विद्यालयले आफ्ना विद्यार्थीलाई लक्षित गरी स्यानटरी प्याड भेन्डिङ मेसिन राखेको छ, जहाँ विद्यार्थीले एक रुपैयाँको सिक्का हालेपछि स्वचालित रुपमा प्याड निस्कन्छ ।

हुन त यसअघि पनि विद्यालयले छात्रालाई प्याड दिने गरेको थियो । तर आवश्यक परेको बेला र शिक्षिका नहुँदा विद्यार्थीले प्याड माग्न गाह्रो मान्थे । स्वचालित मेसिन राखेपछि भने छात्रालाई न कसैसँग प्याड माग्नने झण्झट भएको छ, न त रकमकै । एक रुपैयाँको सिक्का पनि विद्यालय आफैँले उपलब्ध गराई मेसिन नजिकै राखिदिएको छ । आवश्यक परेको बेलामा विद्यार्थीले सिक्का खसाल्छन् र प्याड लिन्छन् ।

रोट¥याक क्लब अफ लुम्बिनी सिद्धार्थनगरको सहयोगमा ४० हजार रुपैयाँ लागतमा विद्यालयमा स्यानटरी प्याड भेन्डिङ मेसिन राखिएको हो । मेसिनमा एकपटकमा ७५ वटासम्म प्याड राख्न मिल्छ । विद्यालयमा २ सय ७० विद्यार्थी अध्ययनरनत छन् ।