चितवनको शहरी क्षेत्र र मुख्य राजमार्गमा सिसिटिभी मर्मतसंगै थपिदै

 

चितवन,०२ चैत । चितवन जिल्लाभर शान्ति सुरक्षा मजबुत बनाउन र सवारी दुर्घटना न्यूनकरणका लागि सिसिटिभी जडान गरिने भएको छ ।

मुख्य सहरी क्षेत्र, राजमार्ग, दुर्घटना ग्रस्त क्षेत्र र मुख्य चोकहरुमा सिसिटिभी जडान गर्न लागिएको हो । सिसिटिभी जडानका लागि जिल्लामा सरोकारवालाको समिति गठन गरि सिसिटिभी आवश्यक क्षेत्रको पहिचान गर्न शुरु गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, भरतपुर महानगरपालिका, प्रहरी, ट्राफिक,उद्योगी व्यवसायी, द थर्ड भिजन, इन्टरनेट प्रदायक संस्थाको टोलीले जिल्लामा सिसिटिभी राख्न आवश्यक क्षेत्रको पहिचान गरेको छ ।
समितिले एकसाता भित्र जिल्लामा आवश्यक सिसिटिभी र त्यसको लागत जिल्ला प्रशासन मार्फत गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्ने साथै प्रतिवेदन स्वीकृत भएपछि स्थानिय तहसंगको सहकार्यमा सिसिटिभी जडान कार्यलाई अघि बढाइने प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

जिल्लाको शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन जिल्ला प्रवेश गर्ने र बाहिरिने नाकामा समेत सिसिटिभी जडान गर्न लागिएको उहँले बताउनुभयो । उहँले जिल्लाको सुरक्षा मजबुत बनाउन,अपराध अनुसन्धान, दुर्घटना न्यूनिकरण र विकृती विसंगती अन्यका लागि सिसिटिभी जडानले सहयोग पु¥याउने बताउनुभयो ।

जमान प्रविधिको रहेकोले उहाले ट्राफिक लगाएतका जनशक्तिको अभावलाई प्रविधिमार्फ पूर्ति गर्ने योजना बनाएको बताउनुभएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी नायव निरिक्षक कृष्णज्यू ठकुरीले आपटारीेदेखि मौवाखोला सम्मको क्षेत्रमा सिसिटिभी आवश्यक पर्ने क्षेत्र पहिचान गरिएको बताउनुभयो । मौवाखोला, फिस्लिङ, मझिमटार, कुरिनटार, मुग्लिन, कालिखोला, सिमलताल, दासढुङ्गा, भतेरी, रामनगर र अँपटारीमा सिसिटिभी राख्न आवश्यक देखिएको उहाले बताउनुभयो ।

चितवनमा द थर्ड भिजन संस्थाले २०६६ सालमा ४३ लाखको लागतमा ३१ वटा सिसिटिभी राखेको थियो । द थर्ड भिजन संस्थाको कोषाध्यक्ष दिनेश कुमार चुकेले २०७४ सालमा पुराना सिसिटिभी मर्मतसंगै थप गरेर ३६ वटा सञ्ंचालनमा ल्याएको तर नियमित मर्मत सम्हार हुन नक्दा सिसिटिभी प्रभावकारी बन्न नसकेको बताउनुभयो । यो बर्ष महानगरपालिकाको सहयोगमा मर्मत गरेपनि विद्युतको पोल सार्ने काम गर्दा विग्रेर ५/७ वटा सिसिटिभी मात्र संचालनमा रहेकाले यसपटक जडान गरिने सिसिटिभी अत्याधुनिक हुने उहाले जानकारी दिनुभयो ।

जिल्लाका अधिकांस क्षेत्रमा सिसिटिभी नहुदा अपराध अनुसन्धानमा समस्या हुने गरेको छ भने चोरीका घटनामा संलग्नलाई नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे पर्ने गरेको छ ।