ओली सरकारका भ्रष्टहरूलाई कारबाही गर्न अख्तियार डरायोः रामचन्द्र पौडेल

चन्द्रौटा,१ चैत । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेसवादी दलहरूले जति ठूला कुरा गरे पनि तराई मधेसका जनताको दुःख पीडा कांग्रेसले मात्रै बुझ्ने गरेको बताएका छन् ।

नेपाली कांग्रेस कपिलवस्तुको क्षेत्र नं. ३ क्षेत्रीय समितिले यशोधरा गाउँपालिकामा शुक्रबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले तराई मधेसका जनताको हरेक समस्याको समाधान कांग्रेसले गर्दै आएको बताए ।

‘तराई मधेसका जनतालाई मधेसवादी दलहरूले झुक्काएका छन् । उनीहरूले मधेसी जनताको उद्धार गर्न सक्दैनन्’, उनले भने, ‘जनताको पीरमर्का बुझ्ने भनेका कांग्रेसले मात्रै हो ।’

वरिष्ठ नेता पौडेलले कांग्रेसले कम्युनिस्टहरूले जस्तो झुठको खेती गर्न नजानेको बताए । ‘हामीले काम गरेर देखाउँछौँ । धेरै कुरा गर्न जान्दैनौँ’, उनले भने, ‘झुठको खेती गर्ने कांग्रेसको बानी छैन । कांग्रेसले पहिला काम गर्छ त्यसपछि जनतालाई भन्छ ।’

कांग्रेसका वरिष्ठ नेता पौडेलले मधेसवादी र कम्युनिस्टहरूको मीठा कुराहरूको पछाडि नलाग्न आग्रह गर्दै यथार्थ कुरा गर्नेहरूलाई साथ दिन आग्रह गरे ।

खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकार आएपछि मुलुकमा देशको अवस्था झन् बिग्रिएको भन्दै पौडेलले चिन्ता जनाए । ‘देशको अवस्था बिग्रिएको छ । शान्ति सुरक्षा भयाबह बन्दै गएको छ । सरकार हरेक ठाउँमा असफल बनेको छ’, उने भने, ‘जताततै भ्रष्टाचार मौलाएको छ । भ्रष्टाचारीहरूलाई कारबाही गर्न अख्तियार पनि डराएको छ ।’

वरिष्ठ नेता पौडेलले भ्रष्टाचारमा संलग्नहरूलाई खुट्टा नकमाई छानविनको दायरामा ल्याएर कारबाही गर्न अख्तियारलाई सुझाव दिएका छन् ।

नेपालमा पानीजहाज चलाउने ओलीको कुरालाई हवादारी भएको बताएका पौडेलले भने, ‘तराईका जग्गा, खेत पानी र सिचाइँ नपाएर बाँझो भएका छन् । ओलीजी पानीजहाज चलाउन लाग्नुभएको छ ।’

उनले पिउने पानीको समस्या भएका बेला कसरी पानीजहाज चल्छ भनेर प्रश्न गरे । पौडेलले जनताका आधारभूत आवश्यक्ता पूरा गर्न नसक्ने कम्युनिस्ट सरकारबाट जनता आजित भैसकेको बताए ।

कार्यक्रममा सत्तारुढ नेकपासहितका विभिन्न दलका नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरूलाई कांग्रेसका वरिष्ठ नेता पौडेलले पार्टीमा भित्र्याएका हुन् ।

कांग्रेस नेता पौडेलले कपिलवस्तुकै चार नम्बरमा बिहीबार कार्यकर्ताहरूलाई प्रशिक्षण दिएका थिए । पौडेलले अहिलेको अवस्था कम्युनिस्टहरूको अधिनायकवादका विरुद्ध लड्ने बेला आएको भन्दै तयार रहन निर्देशन दिएका थिए ।