यान्त्रिक परीक्षण र स्वास्थ्य परीक्षण अनिवार्य

पछिल्लो समय सवारी साधन दुर्घटनाको दर बढ्दै गइरहेको छ । सडकमा हुने सवारी साधन दुर्घटनाका कारण वर्षेनि तीन हजार भन्दा बढीले ज्यान गुमाइरहेका छन् । सवारी साधन दुर्घटनामा परेर राजधानी काठमाडौँमा मात्रै दैनिक दुई जना तथा चितवनमा दुई दिनमा एक जनाले ज्यान गुमाउने गरेका छन् । त्यस्तै, हजारौँ व्यक्ति अंगभंग भएर जीउन बाध्य भएका छन् । सडकमा हुने दुर्घटनाले हामीलाई दुखि बनाउँछ दुर्घटनाको कारणको बिषयमा खोज्न सम्बन्धित निकायसँग जोडदार माग पनि गर्छौँ तर कारण खोजी होस वा नहोस् केही समयमा त्यस्ता दुर्घटनाहरु कारण नै पत्ता नलागी सेलाएर जान्छन् । दुर्घटनाका धेरै कारणहरु हुन्छन् । सडकको अवस्था, सवारीको अवस्था, यात्रुहरुको हतारका साथै दुर्घटनाको मुख्य कारण सवारी चालक र सवारी साधनको यान्त्रिक अवस्था हो ।
सडकमा हुने सवारी दुर्घटनामा कमी ल्याउनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले बिभिन्न संस्थाहरुसँगको सहकार्यमा सडकमा पुगेर सवारी चालकको स्वास्थ्य जाँच तथा सवारी साधनको यान्त्रिक परीक्षण गरेको छ । जाँचमा सहभागी अधिकांश सवारी चालकहरुमा उच्च रक्तचाप जस्तो समस्या देखा प¥यो । उच्च रक्तचापका कारण मानिसलाई जुनसुकै बेला जस्तोसुकै समस्या देखा पर्न सक्छ । त्यसमा पनि सवारी साधन चलाउने जस्तो संवेदनशिल काम गर्ने कुरामा उच्च रक्तचापले थप असर गरिरहेको हुन्छ । जुन समस्या नै भोलि दुर्घटनाको कारण बन्न सक्छ । दुर्घटनापछि गरिने कयौँ अड्कल बाजीहरुमा कसैले पनि सवारी चालकको स्वास्थ्य अवस्थाका विषयमा जानकारी खोजेको वा राखेको पाईंदैन ।
सवारी चालकमा रहेका स्वास्थ्य समस्या पनि अन्य मानिसहरुका जस्तै स्वास्थ्य समस्या हुन् । जुन स्वास्थ्य समस्याको समयमा उपचार गर्ने होभने सजिलै समाधान खोज्न सकिन्छ । त्यस्तै सवारी चालकको आँखामा कलर भिजनको समेत समस्या देखिने गरेको छ । कलर भिजन समस्या भएका चालकले सवारी साधन हाँक्दा दुर्घटना हुने सम्भावना बढी हुन्छ । सवारी चालकमा देखिएको स्वास्थ्य समस्या उपचार गरेर सन्तुलनमा ल्याउन सकिन्छ भने भयानक दुर्घटना हुनबाट बचाउनका लागि समस्या रहेका चालकहरुको उपचार समयमा किन नगर्ने । दुर्घटनाको अर्को कारक हो सवारी साधनको यान्त्रिक गडबढी । नियमित रुपमा सवारी साधनहरु चेकजाँच गराएर चलाउने हो भने सवारी साधनको अवस्था राम्रो हुने र दुर्घटना समेत न्यूनीकरण हुने प्रहरीले जनाएको छ । अनुगमन र नियमन गर्ने अधिकार पाएका निकायहरुले यस्ता समस्याहरुमा ध्यान दिँदै कसैको रोजीरोटी नखोसिने गरी दुर्घटनामा कमी ल्याउने खालका क्रियाकपाल सञ्चालन गर्दै मानव स्वास्थ्य माथी गम्भीर हुनु आवश्यक छ ।