‘खाग’ माथी नारायणगढमा अन्तरक्रिया

चितवन, १५ फागुन । चितवन राष्ट्रिय निकुञ्जका पूर्ववार्डेन कमलजंग कुँवरद्वारा लिखित ‘गैंडालाई चार वर्ष’ पुस्तकमा आधारित चलचित्र ‘खाग’ को बारेमा चितवनमा अन्तरक्रिया गरिएको छ ।
गैंडा संरक्षणका लागि भएका प्रयासको कथामा समेटिएको चलचित्रको बारेमा बुधबार नारायणगढमा पत्रकारहरुसँग अन्तरक्रिया गरिएको हो । निर्देशक मनोज पण्डितले निर्देशन गरेको यस चलचित्रमा गैंडाको संरक्षणमा देखिएको चुनौतीबारे देखाउन खोजिएको छ । चलचित्रमा प्रविण खतिवडाको मुख्य भूमिका छ । उनी फिल्ममा लेखक कुँवरको भूमिकामा छन् । निर्देशक पण्डित, पुस्कर गुरुङ, अशान्त शर्माको पनि यसमा अभिनय छ ।
फागुन २४ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्मले एउटा व्यक्तिको संघर्षको कथा भन्ने लेखक कुँवरले बताए । यस प्रदर्शनको दिन फागुन २४ गतेदेखि २७ गतेसम्म फिल्मको रिभ्यू लेखेर पठाउने मध्येबाट प्रथमलाई १० हजार, दोस्रोलाई ५ हजार र तेस्रोलाई २५ सय प्रदान गरिनेछ । दीपक बज्रचार्यको छायांकन रहेको फिल्मलाई पदम तिमल्सिनाले सम्पादन गरेका हुन् । फिल्मलाई प्रमिला कुँवरले निर्माण गरेकी हुन् ।