संसदीय विशेष सुनुवाई समितिको बैठक आज

काठमाडौं, १४ फागुन  । कोरम नपुगेर पटक– पटक स्थगित हुँदै आएको संसदीय विशेष सुनुवाई समितिको बैठक आज (मंगलबार) बस्दैछ ।

समितिको आज बस्ने बैठकमा अनिवार्य उपस्थित हुन नेकपाले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ । आइतबार बोलाइएको समिति बैठक कोरम नपुगेर स्थगित भएपछि नेकपा संसदीय दलले आफ्ना सांसदहरुलाई बैठकमा अनिवार्य उपस्थित हुन ‘हृवीप लगाएको हो ।

आजको बैठकबाट थारु आयोगको अध्यक्षमा सिफारिस विष्णुप्रसाद चौधरी र मधेसी आयोगका अध्यक्षमा सिफारिस विजयकुमार दत्तको सुनुवाई र अनुमोदन गर्ने तयारी छ । प्रतिपक्षी नेपाली कांग्रेसले संवैधानिक आयोगमा गरिएको सिफारिसको वैधानिकतामा प्रश्न उठाउँदै बैठक बहिस्कार गर्दै आएको छ ।

नेकपाको बहुमत रहेको १५ सदस्यीय सुनुवाई समितिमा नेकपाका ९ जना सांसद छन् । कांग्रेसका ४ जना, संघीय समाजवादी फोरम र राजपाका एक एक जना सांसद सदस्य रहेका छन् ।