पत्रिकामा आजः पार्टी कार्यालयमै विद्यार्थी कुटाकुट गर्दा कांग्रेस नेता मौन

काठमाडौं । मंगलबार काठमाडौंबाट प्रकाशित पत्रपत्रिकाले विभिन्न समाचारलाई प्राथमिकताका साथ छापेका छन् ।

कान्तिपुरले ‘पाठकलाई घुस ९० करोडको अनियमितता लुकाउन’ शीर्षकमा समाचार छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्ता राजनारायण पाठकलाई ७८ लाख रुपैयाँ घुस खुवाएको आरोप लागेको लम्बोधर न्यौपानेको नेतृत्वकालमा नेपाल इन्जिनियरिङ कलेजमा नियमविपरित खर्च र भुक्तानी तथा स्रोत नखुलेको बचतसमेत गरी ९० करोड रुपैयाँभन्दा बढी अनियमितता भएको भेटिएको छ । कलेजको अनियमितताबारे भएको अनुसन्धानमुलक लेखापरीक्षण मा विभिन्न व्यक्तिको नाम नियमविपरित भुक्तानी २३ करोड १० लाख, नियमविपरित थप खर्च ३३ करोड ७६ लाख र श्रोता नखुलेको बचत ३१ करोड ८६ लाखसमेत गरी ९० करोड ७२ लाख रुपैयाँ अनियमितता भएको देखिएको छ । लम्बोधर न्यौपानले मात्रै ८ करोड ५८ लाख लेखाको रेकर्डमा रहने गरी र ४ करोड ७४ लाख रुपैयाँ लेखा प्रणालीमा नदेखिने गरि लिएका थिए । यस्तै अनियमितता ढाकछोप गर्न अख्तियारका तत्कालीन आयुक्त राजनारायण पाठकले ७८ लाख रुपैयाँ घुस लिएका छन् । ‘स्थानीय तहमा चन्दा आतंक’ शीर्षकमा कान्तिपुरले नै समाचार लेखेको छ । नेत्रविक्रम चन्द (विप्लव) माओवादी पार्टीले प्रदेश नं ५ का हरेक स्थानीय तहमा पत्र पठाउँदै विकास बजेटको २ प्रतिशत रकम उपलब्ध गराउन दबाब दिएको छ । यदि रकम उपलब्ध नगराएका जस्तोसुकै गम्भीर परिणामको जिम्मेवार स्वयं स्थानीय तह नै हुने नेत्रविक्रम चन्द (विप्लव) माओवादीको धम्की छ ।

‘शिथिल जासुसी संयन्त्र’ शीर्षकमा आजको नागरिकले पहिलो पृष्ठमा समाचार प्रकाशित गरेको छ । आन्तरिक सुरक्षासँग सम्बन्धित सूचना गृह मन्त्रालय र मातहतका सुरक्षा निकायलाई प्रवाह गनुपर्ने अनुसन्धान विभागले प्रधानमन्त्री कार्यालयमा एक सहसचिवलाई रिर्पोटिङ गरेर आफ्नो जिम्मेवारी पुरा गरिरहेको समाचारमा उल्लेख छ । नागरिकले छापेको अर्को समाचारमा ‘कांग्रेसमा गुट बलियो बनाउने होड’ शीर्षक छ । सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले एकताको सन्देश दिएको दुई महिना बित्न नपाउँदै नेताहरु गुटगत स्वार्थ रक्षाखातिर फेरि विवाजित बन्न पुगेका छन् । त्यसैगरी पाल्पामा हावाबाट निकालिएको विजुलीले गाउँबस्ती उज्यालिएको समाचार पनि नागरिकको पहिलो पृष्ठमा छ ।

गोरखापत्र दैनिकमा प्रधानमन्त्री केपी ओलीले नाट्य विधाको विकास गर्न बजेट छुट्याइने बताएको कुरालाई प्राथमिकताका साथ छापेको छ । साथै गोरखापत्रकै अर्को समाचारमा कर्मचारी समायोजनको कुरालाई पनि कोट्याइएको छ । कर्मचारी समायोनक विधयेकले सहसचिवको खुल्ला प्रतिस्पर्धा बन्द गर्ने प्रस्ताव गरेपछि सांसद्हरुले कम्तीमा पनि १० प्रतिशत खुला पदपूर्ति गर्न पाउने व्यवस्था कायम राख्न संशोधन दर्ता गर्नुभएको हो । त्यसैगरी संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ४० औँ सभामा भाग लिन अमेरिका पुग्नुभएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालमा लगानीमैत्री वातावरण रहेकोले नेपालमा लगानी गर्नको लागि त्यहाँ रहेको गैरआवसीय नेपालीलाई आग्रह गर्नुभएको छ ।

‘पार्टी कार्यालयमै विद्यार्थी कुटाकुट गर्दा कांग्रेस नेता मौन’ शीर्षक दिएर नयाँ पत्रिकाले समाचार लेखेको छ । पहिलो पृष्ठमा लेखिएको समाचारमा आँगनमै भएको ताण्डव नेताहरुले झ्यालमा बसेर हाँस्दै हेरेको समाचार लेखिएको छ । केन्द्रीय समिति बैठकमै सिटौलाले भने, ‘नेविसंघको झगडा झ्यालमा बसेर हाँस्दै हेर्यौँ, तर केही गरेनौँ ।’ घटनाको विषयमा पार्टीका नेताहरुको विभिन्न प्रतिक्रिया दिएका छन् । नेता विमलेन्द्र निधीले कुन टिप्पणी गर्न चाहनुभएन भने पार्टीका प्रवक्ता तथा प्रभावशाली नेता विश्वप्रकाश शर्माले छानविन गर्ने प्रतिवद्धता जनाएका छन् । यस्तै यु्वानेता प्रदीप पौडेलले विधान लागू गर भन्न पनि नपाइने कस्तो शैली ? भन्दै टिप्पणी गरेका छन् । यस्तै देउवापक्षका नेविसंघ नेता ऋषिकेश जंग शाहले सभापतिलाई घेर्न थालेपछि सहेनौँ भन्ने प्रतिक्रिया दिएका छन् भने सिटौलापक्ष नेविसंघ नेता रामप्रसाद अधिकारीले प्रकाशरण महतको निर्देशनमा आक्रमण गरेको बताएका छन् । मुक्त कमैया र हिलाय पुनस्र्थापना गर्नको लागि अरबौँको बजेट सकिएपनि काम उस्तै रहेको नयाँ पत्रिकाको अर्को समाचार छ । मुक्त कमैया तथा हलिया पुनस्र्थापनाको लागि ५ अर्ब ३३ करोड रुपैयाँ सकिएता पनि कामको प्रगति भने शून्य छ । सरकारले भने यो वर्षभित्र पुनस्र्थापना गर्छौ भनेको छ ।

‘जहाँ लाइसेन्स किन्न किन्न पाइन्छ’ शीर्षकमो अन्नपूर्ण पोस्टको पहिलो पृष्ठमा समाचार छापिएको छ । समाचारमा भनिएको छ, ‘पछिल्लो समय यातायाता कार्यालयमाथि निगरानी बढाएपछि बिचौलिया र कर्मचारी तर्सिएका छन् । तर उनीहरुले घुस खान छाडेका छैनन् । घुस माग्ने नयाँ नयाँ उपाय प्रयोगमा ल्याइरहेका छन् । पहिला कर्मचारी सेवाग्राहीसँग हाकाहाकी घुस माग्थे टेबलमुनिबाट घुस लिन्थे । घुस नदिए फाइल अड्काइदिन्थे । तर अहिले यातायात कार्यालयबाहिरबाटै सेटिङ हुन्छ । कार्यालय प्रवेशद्वारमा भेटिएका बिचौलिया भन्दै थिए , ‘अब भित्र घुस चल्दैन । सीसी क्यामेरा जडान भएको छ ।’ कार्यालयमा नागरिक बडापत्र राखिएको छैन । खानेपानीका लागि बनाइएको कल बिग्रिएको छ भने लेखाफाँट अगाडि सेवाग्राही उभिने झ्यालमाथि बिजुलीका तार असरल्ल छ । कार्यालय डुंगडुगी गन्हाएको छ । यो जनकपुरस्थित यातायात व्यवस्था कार्यालयमा हो । जहाँ बिचौलियाले २० हजार दिए लाइसेन्स बनाइदिने बताउँछन् । यस्तै ‘तातोपानी नाका खुल्दै’ शीर्षकमा पनि अन्नपूर्ण पोस्टमा समाचार छ । समाचारमा लेखिएको छ, सिन्धुपाल्चोकस्थित तातोपानी नाका वैशाखदेखि पुनः सञ्चालन हुने भएको छ । उक्त क्षेत्रबाट चीनविरोधी गतिविधि हुन नदिने नेपालको प्रतिबद्धतापछि नाका खोल्न चिनियाँ पक्ष सहमत भएको स्रोतले जनाएको छ । आवश्यक कार्यालय स्थापना र संरचना निर्माण चैतसम्ममा सक्ने सरकारको तयारी छ । यो नाका २०७२ वैशाख १२ को भूकम्पपछि बन्द छ । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका बेला गत असारमा आवश्यक पूर्वाधार निर्माण गरी नाका खोल्ने सम्झौता भएको थियो ।

‘नियमविपरित इन्धन लिन्छन् संसद्का पदाधिकारी’ शीर्षकमा राजधानी दैनिकमा समाचार छ । संसद्का पदाधिकारी तथा सदस्यहरुले कानुनी व्यवस्था विपरित इन्धन लिने गरेको पाइएको छ । संसद्का पदाधिकारी र संदस्यहरुको पारिश्रमिक र सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०५२ तथा संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७३मा उल्लेख नभए पनि उनीहरुले इन्धन खर्च लिने गरेको पाइएको छ । सचिवालयका संसदीय दलका नेताहरुले इन्धन खर्चबापत मासिक २० हजार रुपैयाँका दरले लिने गरेको खुलेको हो । महालेखा परिक्षकका अनुसार गतवर्ष५६ लाख २० हजार रुपैयाँ पदाधिकारी र सदस्यहरुलाई इन्धनबापत उपलब्ध गराइएको छ । यस्तै प्रधानन्यायाधिस चोलेन्द्र शमशेर जबराले ७८ जना न्यायाधिसलाई छानविनको घेरमा ल्याएको समाचार पनि आजको रावधानी दैनिकमा छ । समाचारमा विशेष अदालतका तीन न्यायाधीसको समेत काज सरुवा गरिएको उल्लेख छ ।