महिला विश्वकप छनौट : आज चीनसँग भिड्दै

 

काठमाडौं, १३ फागुन । आईसीसी महिला टी–ट्वान्टी एसिया क्षेत्रीय छनौट खेलमा नेपालले आज चीनको सामना गर्दैछ । खेल नेपाली समय अनुसार पौने १ बजे हुनेछ ।

अंक तालिकामा आफू भन्दा माथि रहेको चीनसँग जित निकाल्दै नेपाल विश्वकप यात्रा सहज बनाउने तयारीमा छ । चार खेलबाट ६ अंक जोडेको नेपाल सहज जित निकाल्दै अंक तालिकाको माथिल्लो स्थान उक्लने रणनीतिमा छ । आइतबार हङकङसँग भएको खेलमा नेपाल तीन विकेटले विजयी भएको थियो ।

त्यसअघि नेपालले युएईसँग ५८ बल बाँकी रहँदै सात विकेटको फराकिलो जित निकालेको थियो । थाइल्याण्डसँग ५७ रनले पराजित नेपाल मलेसियासँग ३४ रनको जित निकालेको थियो ।

चीन र नेपालको महिला टीम यसअघि थाइल्याण्ड महिला टी–ट्वान्टी स्मासमा आमनेसामने भएका थिए । उक्त खेलमा नेपालले चीनलाई १० विकेटको फराकिलो जित निकालेको थियो ।

सात टोली सम्मिलित प्रतियोगितामा नेपाल अंक तालिकामा चौंथो स्थानमा छ । राउण्ड रोविनका आधारमा पहिलो हुने टोलीले विश्वकपमा सहभागिता जनाउने छ ।