रत्ननगरको न्यायिक समिति : ६ महिनामा ५९ मुद्दाको छिनोफानो

रत्ननगर ०८ फागुन । रत्ननगर नगरपालिकामा रहेको न्यायिक समितिले न्याय सम्पादनमा प्रभावकारी काम गरेको पाइएको छ । उपमेयर विमला दुवाडीको नेतृत्वमा रहेका न्यायिक समितिले कुशलता पूर्वक विवाद समाधान गरी न्याय सम्पादन गर्न सफल भएको हो । समितिमा पर्ने अधिकांस मुद्दाहरु मेलमिलापबाट छिनोफानो गर्ने गरिएको उपमेयर दुवाडीले बताइन । न्यायिक समितिले पछिल्लो ६ महिनामा ५९ वटा मुद्दाको छिनोफानो गरेको छ । समितिमा साउन देखि अहिले सम्म ७२ वटा मुद्धा दर्ता भएका छन् । त्यस मध्ये ४३ वटा मुद्धा मेलमिलाप प्रक्रियामा टुंगाएको दुवाडीले बताइन् । नगरपालिकामा परेका मुद्दाहरु सकेसम्म मेलमिलापबाट टुंगाउने गरेको उनले बताईन । हाम्रो प्रमुख प्राथमिकता मेलमिलाप गर्नु हुन्छ उनले भनिन निवेदन मध्ये ४३ वटा मेलमिलाप बाट टुंगाएका छौँ । ४ वटा मेलमिलापको प्रक्रियामा छन । १६ वटाको फैसला गरेका छौँ, उनले भनिन् बाँकी ७ वटा मुद्दा जिल्ला अदालत पठाएका छौँ । समितिमा श्रीमान् श्रीमतीबीचको झगडा, सम्बन्ध विच्छेद, साँधसँधियार,वैदेशिक रोजगार, अंशबण्डा लगाएत मुद्दा न्यायिक समितिमा दर्ता हुने गरेको उपमेयर दुवाडीले बताइन । रत्ननगर नगरपालिकाकी उपप्रमुख विमला दवाडीले समितिमा आउने मुद्दाको विषयगत ज्ञानको अभावले सम्पादन ढिला हुने गरेको बताइन । संविधानले स्थानीय तहमा न्यायिक समिति सम्बन्धी स्पष्ट व्यवस्था गरेपनि यस सम्बन्धी कानून नबन्दा काममा ढिलाइ भएको छ । नेपालको संविधान २०७२ को धारा २१७ मा कानून बमोजिम आफ्नो अधिकार क्षेत्रभित्रका विवाद निरुपण गर्न स्थानीय तहका उपप्रमुखलाई दिएको छ । न्याय सम्पादनमा जिल्लाका अन्य नगरपालिकामा रहेका न्यायिक समितिले भन्दा रत्ननगरको न्यायिक समितिले प्रभावकारी काम गरेको भन्दै प्रशंसा हुने गरेको छ । रत्ननगरकी न्यायिक समितिकी संयोजक तथा उपमेयर दुवाडी लामो समय देखि जिल्ला अदालतमा मेलमिलपकर्ताको रुपमा काम गरेकाले अहिले न्याय सम्पादनको काम यहाँ प्रभावकारी भएको हो ।