हिरो महिला गोल्डकपमा नेपालले भारतलाई २–१ ले हरायो

काठमाडौँ,२८ माघ । भारतको उडिसामा भैरहेको हिरो गोल्डकप फुटबल प्रतियोगिता अन्तरर्गत नेपालले भारतलाई २–१ गोलले हराएको छ । भुवनेश्वरको कालिङ्गा रंगशालामा भएको खेलमा नेपालले भारतलाई दुई–एकले हराएको हो । खेल सुुरु भएको पाँचौ मिनेटमै नेपालका लागि सावित्रा भण्डारीले गोल गर्दै अग्रता दिलाएकी थिइन् ।

त्यसको एक मिनेटमै फेरि नेपाली खेलाडीले प्रहार गरेको बललाई भारतीय गोलकीपर अदिती चौहानले नै जाली चुमाइन् । उपहार गोलमार्फत नेपालले अग्रता दोब्बर बनायो ।खेलको ८४औँ मिनेटमा भारतका लागि रत्नाबाला देवीले फ्रीकिकमार्फत गोल गरिन् ।

पहिलो खेलमा म्यानमारसँग तीन-शून्यले पराजित भएको नेपाल विजय लक्ष्यका साथ मैदान उत्रिएको थियो । जितसँगै म्यानमारले तालिकामा तीन अंक जोडेको थियो । नेपालले आजको जितसँगै तीन अंक जोडेको छ । आजको खेलमा जित हात पारेसँगै नेपालको उपाधि होड कायमै छ । आउँदो बुधबार नेपालले इरानसँग खेल्नेछ ।

प्रतियोगितामा आयोजक भारतसहित नेपाल, म्यानमार र इरान रहेका छन् । साफ र ओलम्पिक छनोटको तयारीस्वरुप भारतले प्रतियोगिताको आयोजना गरेको हो ।