चितवनमा बन्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको घोषणा र डीपीआर शुभारम्भ आज हुदैँ, बृहत र्‍याली निकालिदैँ

 

चितवन , २० माघ । भरतपुर महानगरपालिकामा बन्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बृहत र्‍यालीसहितको गृह घोषणा तथा डीपीआर शुभारम्भ आज( आइतबार) हुदैँछ । गत, माघ १६ गते काठमाडौंबाट निर्माण थाल्ने घोषणा गरिएको रंगशालाको निर्माणस्थलमा काम थालनी गर्ने गरी समारोह आयोजना गरिएको छ ।
शनिबार बिहान महानगर कार्यालयमा सम्पन्न सर्वपक्षीय छलफलले तय गरेको कार्यक्रमअनुसार रंगशाला निर्माण गर्ने धुर्मुस–सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलसहितको र्‍याली भरतपुरको चौबिसकोठीबाट निर्माणस्थलसम्म जानेछ । बिहान १० बजे कट्टेललाई भरतपुर विमानस्थलमा स्वागत गरेपछि चौबिसकोठीबाट र्‍याली सुरु गरिनेछ । यस्तै,
मंगलपुरबाट १६ नम्बर वडा कार्यालय हुँदै निर्माणस्थल पुग्ने भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जानकरी दिइन् । र्‍याली तथा समारोहमा उपस्थित हुन दाहालले सबै खेलप्रेमीलाई राष्ट्रिय झण्डासहित उपस्थित हुन आह्वान गरेकी छन् । र्‍यालीमा खेलाडी, उद्योगपति, पेशाकर्मी, नागरिक समाज, युवा विद्यार्थी सबैलाई सहभागी हुन उनकोे आग्रह छ ।
र्‍यालीपछि निर्माणस्थलमा रंगशालाको जिल्ला घोषणा र डीपीआर शुभारम्भको घोषणा गरिने छ । रंगशाला भरतपुरको कृषि वन तथा विज्ञान विश्वविद्यालयको जग्गामा निर्माण हुन लागेको हो । त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर १५ को जग्गा कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको छ ।
२० विघा ६ कठ्ठा क्षेत्रफलमा रंगशाला बन्ने भएको हो । गुरुयोजना तयार भएको २ वर्षभित्र रंगशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गरिने फाउन्डेसनले जनाएको छ । रंगशाला निर्माणको लागत ३ अर्ब अनुमान गरिएको छ । देश–विदेशका नेपालीहरुबाट प्राप्त हुने स्वेच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइने फाउन्डेसनले जनाएको छ । मौलिक डिजाइनमा बन्ने रंगशाला कमलको फुलको आकारमा निर्माण हुनेछ ।