सरकारी गाडी जलाउने नेविसंघका पाँचजना पक्राउ

पोखरा, १९ माघ । सरकारी गाडीमा आगजनी गरेको भन्दै नेविसंघका पाँचजना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा नेविसंघ पोखरा विश्वविद्यालयका पूर्वसभापति राजेन्द्र बराल, परशुराम बस्नेत, लक्ष्मीप्रसाद पौडेललगायत रहेको कास्की प्रहरी प्रमुख ओम रानाले जानकरी दिए ।
कास्कीको पोखरा महानगपालिकाको मासबारमा शनिबार नेपाल विद्यार्थी संघले सरकारी गाडी नियन्त्रणमा लिएर आगो लगाएको थियो ।

पोखरा महानगरको शिक्षा महाशाखा प्रमुखले चढ्दै आएको सरकारी गाडी महनगरका महाशाखा प्रमुख हेमप्रसाद आचार्यलाई लिन गएका बेला पोखरा–७, मासबारस्थित श्रीकृष्ण माविअगाडि बा१झ ५८७९ नम्बरको पिकअप भ्यान जलाइएको हो ।

नयाँबजारस्थित नवप्रभात माविमा सन्चालित स्वास्थ्यका कर्मचारीहरुको विभिन्न पाँचओटा विज्ञापनका परीक्षार्थीको लिखित परीक्षाको केन्द्राध्यक्ष आचार्यलाई लिन गाडी गएको थियो ।

चालक इच्छा गायकलाई गाडीबाट ओरालेर पेट्रोल छर्केर आगो लगाइएको जनाइएको छ ।