५ दिन अघिबाटै ल्होछार मनाउन सुरु, नेपाल आईडल बुद्ध लामाको धमाकामा

राजेश रुम्बा
मक्वानपुर माघ १८  । यसवर्षको सोनाम ल्होछार आगामि माघ २२ गत्ते भए पनि मक्वानपुरमा भने ५ दिन अघिदेखि नै मनाउन सुरु गरीएको छ ।
शुक्रवार मक्वानपुरको मनहरीमा स्थानियको बाक्लो उपस्थितिमा भव्य कार्यक्रम गरी ल्होछार मनाएका हुन । प्रदेश नं ३ का सांसद इन्द्र बानियाँको प्रमुख आतिथ्यता तथा सांसद ओम कुमार घलानको विशेष आतिथ्यता रहेको कार्यक्रममा विभिन्न संघसंगठनका प्रमुख तथा प्रतिनीधि लगायतको सहभागीता रहेको थियो ।   
ल्होछार कार्यक्रममा प्रथम नेपाल आइडल बुद्ध लामाले दर्जनौ गित प्रस्तुत गरेका थिए ।
उनले सानी नरिसाउन लगायत उनका नयाँ गीत गाउदा दर्शकको भिड बाक्लिदै गयो र दर्शकहरुको वान्समोरको हुटिंगले बुद्ध जोसिएका थिए भने कार्यक्रमस्थल संगितमय बनेको थियो ।
यस्तै अन्य राष्ट्रिय कलाकारहरु इन्दिरा गुरुङ, प्रेम लोप्चन, रियो छमछमीका प्रथम डान्सर सरोज राना प्रजा लगाएत स्थानिय कलाकारहरु समेतको प्रस्तुति रहेको थिए । कार्यक्रम सुरु हुनुपुर्व तामाङ भेष भुषासहितका लामा, बोन्बो साथै युवा, वृद्धहरुको झाँकीसहितको र्यालीले मनहरी बजार परिक्रमा गरेको थियो ।
हरेक वर्ष ल्हो परिवर्तन हुने परम्परा अनुसार यस वर्ष कुकुर वर्गलाई विदाई तथा बँदेल वर्गलाई स्वागत गरी तामाङ समुदायले भव्यरुपमा मनाउने कार्यक्रम गररि मनाउने गर्दछन ।
नयाँ वर्षका रुपमा मनाईने सोनाम ल्होछार तिथिका आधारमा मनाईने सांस्कृतिक पर्व हो । ल्होछारमा एकआपसमा शुभकामना आदानप्रदान गर्ने, आफन्तकहा जाँने, आफुभन्दा ठुलाबाट आशिर्वाद लिने, मिठो मसिनो खाने तथा गुम्बामा पुजापाठ गर्नुका साथै हरेक घरमा नयाँ लुंदर राख्ने गरीन्छ ।
सिंगो बाँसमा टाँगेर राखिने विभिन्न कलर मिलाएर बनाईएको लामो कपडामा शान्तिका थुपै मन्त्रहरु छापिएको हुन्छ । सो लुंदर घर नजिकै अथवा माने, गुम्वा, विशेष शान्त क्षेत्र, डाडामा राख्दा ति शान्तिका मन्त्र हावाको माध्यमबाट संसारभर पुग्ने धार्मिक विस्वास रहेको छ ।