ग्रास रुट कार्यक्रमको अवलोकलन तथा अन्तरक्रिया

चितवन, १८ माघ । गत भदौ ३० देखि अखिल नेपाल फुटबल संघ (एन्फा)ले देशभरी सुरु भएको ग्रास रुट कार्यक्रमको चितवनमा अवलोकन गरिएको छ ।
फिफाका प्रतिनिधि चोकी निमा, ग्रास रुट कार्यक्रमका संयोजक तथा पूर्व खेलाडी उपेन्द्रमान सिंह, चितवन जिल्ला फुटबल संघका अध्यक्ष तथा खेलाडीसहितले कार्यक्रमको अवलोकनपछि अन्तरक्रिया गरेका छन् । अन्तरक्रियामा ग्रास रुटका संयोजक उपेन्द्रमान सिंहले फुटबलको विकासका लागि केन्द्रले महत्वपूर्ण स्थान दिएर ग्रासरुट कार्यक्रम अगाडि बढाएको बताए । ६ देखि १२ वर्ष उमेरका बालबालिकाहरुलाई फुटबलप्रति आकर्षित गराउने उद्देश्यले ग्रास रुट कार्यक्रम सुरु गरिएको उल्लेख गर्दै सिंहले यस वर्ष मात्रै १० हजार बालबालिकाले फुटबल खेल्न लागेको बताए ।
सानै उमेरका बालबालिकालाई फुटबलमा आकर्षण गर्न सकिएमा राष्ट्रिय टोली बलियो हुने सिंहको भनाइ छ । चार वर्षमा कम्तिमा ५० हजार बालबालिकालाई फुटबल खेलाउने तयारीका साथ जिल्लाहरुलाई ग्रास रुट कार्यक्रमका लागि भौतिक तथा आर्थिक सहयोग गर्दैै आएको सिंहले बताए । चितवनमा सारदानगर, बरुवा, क्याम्पाचौर, भण्डारा, आनन्दपुर गरि पाँच ठाउँमा करिब २० वटा विद्यालयका बालबालिकाहरुले ग्रास रुट कार्यक्रममा सहभागी भएका चितवन जिल्ला फुटबल संघका महासचिव रामहरि ढकालले जानकारी दिए ।
जिल्लालाई कार्यक्रमका लागि एन्फाले फुटबल, बिब्स, कोन, मार्कर सहयोग गर्नुका साथै वार्षिक पाँच लाख रुपैयाँ प्रदान गरेको ढकालले बताए । चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर ८ का अध्यक्ष राजेन्द्रमणि काफ्ले प्रमुख अतिथि रहेका थिए ।