चितवनमा एथलेटिक्सको रेफ्री प्रशिक्षण सुरु

चितवन, १४ माघ । चितवन जिल्ला एथलेटिक्स संघको आयोजनामा एथलेटिक्सका रेफ्री उत्पादन गर्ने उद्देश्यले भरतपुरमा तालीम सुरु गरिएको छ ।
एथलेटिक्स खेलका खेलाडी तथा खेलकुद शिक्षक गरि ३० जना सहभागी रहेको तालीममा एथलेटिक्सका वरिष्ठ प्रशिक्षक सुशील नरसिंह राणा तथा नेपाल एथलेटिक्स महासंघका पूर्व महासचिव सुनील राजवंशीले प्रशिक्षण दिँदैछन् । सोमबार सुरु भएको दुई दिने प्रशिक्षणको उद्घाटनका क्रममा प्रमुख प्रशिक्षक राणाले एथलेटिक्सका रेफ्रीहरुको संख्या न्यून रहेको बताए ।
रेफ्रीहरुले राम्रोसँग प्रशिक्षण लिएर तालीममा सिकेका ज्ञानलाई व्यवहारमा लागू गर्न सकेको अवस्थामा उनीहरुको भविष्य राम्रो भएको राणाले बताए । नेपालमा नै एथलेटिक्स खेलका ३० जना मात्रै रेफ्री रहेका उल्लेख गर्दै राणाले यो तालीमबाट उत्कृष्ट हुने रेफ्रीलाई राष्ट्रिय खेलकुद प्रतियोगितामा समेत सहभागी गराउन सकिने बताए । अहिले लिएको प्रशिक्षणबाट अन्तर्राष्ट्रिय रेफ्री कोर्षका लागि समेत टेवा पुग्ने उल्लेख गर्दै राणाले सैद्धान्तिक र व्यवहारिक दुवै तरिकाले प्रशिक्षण दिइने बताए ।
तालीमको उद्घाटनका क्रममा नेपाल एथलेटिक्स महासंघ महासचिव धनवीर चौधरीले जिल्लामा एथलेटिक्सको लाइसेन्स भएका रेफ्रीहरु नभएको अवस्थामा लाइसेन्स लिन तालीमले सघाउने बताए । सो कार्यक्रममा चितवन जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख रामजी ढकालले प्रशिक्षार्थीहरुको परीक्षा लिएर उनीहरुलाई प्रमाणपत्र प्रदान गरिने बताए । राष्ट्रिय खेलकुदका लागि चितवनमा नै फागुन ३ गतेदेखि एथलेटिक्स विधाको प्रदेशस्तरीय छनौट हुने भएकाले रेफ्रीको आवश्यकता पर्दा अहिले राम्रो अंक प्राप्त गर्ने प्रशिक्षार्थीलाई नै रेफ्रीको मौका दिइने ढकालले बताए ।
प्रदेश नम्बर २, ३ र गण्डकी प्रदेशको खेलाडीहरुको एथलेटिक्स छनौट भरतपुरमा हुने ढकालले बताए । प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्र चितवन जिल्ला एथलेटिक्स संघका अध्यक्ष मानबहानुर रम्जालीको अध्यक्षतामा भएको थियो ।