खैरहनीमा न्यायिक र मेलमिलाप समितिलाई प्रशिक्षण

चितवन माघ १३ । न्यायिक समिति सदस्यहरु र मेलमिलापकर्ताहरुका लागि २ दिने प्रशिक्षण आईतवारदेखी खैरहनीमा सुरु भएको छ । खैरहनी नगरपालिकाको आयोजना सुरु भएको प्रशिक्षणमा न्यायिक समिति सदस्य र नगर भित्र रहेका मेलमिलापकर्ताहरुको सहभागीता रहेको छ ।

प्रशिक्षणको उद्घाटन गर्दै खैरहनीका मेयर लालमणी चौधरीले न्यायिक समिति र मेलमिलाप समितिले समन्वय गरे विवाद सहज रुपमा समाधान हुने वताए । सवै काम गर्ने अधिकार स्थानीय तहलाई आएको भन्ने भ्रम रहेकाले सवै अधिकार न्यायिक समितिले गर्न नपाउने मेयर चौधरीले प्रष्ट पारे ।

खैरहनी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम शर्माले देवानी र फौजदारी संहितामा न्यायिक समिति सदस्य र मेलमिलापकर्ताहरु सजग हुनु पर्ने वताए । पहिलो दिन न्यायिक समितिको गठन र महत्व,यसको क्षेत्राधिकार र प्रयोग तथा समितिले मान्नु पर्ने मान्यता,विवाद समाधानको लागि मेलमिलापको प्रक्रियाका बारे अधिवक्ता राजकुमार श्रेष्ठ र नगरपालिकाका नायव सुव्वा बाबुराम जैसीले सहजीकरण गरेका महिला तथा वालवालिका शाखा प्रमुख सविता खनालले वताईन् ।

दोश्रो दिन सोमवार समिति सदस्यहरुले लैंगिक समानता र समावेशिकरणका बारे जान्नु पर्ने कुरा,सम्पती रोक्का तथा फुकुवा सम्वन्धी व्यवस्था,महिला तथा वालवालिकामाथी हुने हिंसा विरुद्ध संविधानमा भएको व्यवस्थाका बारे खैरहनीकी उपमेयर तथा न्यायिक समिति संयोजक सुनिता थपलिया,प्रमुख प्रशासकीय अधिकृत शर्मा र प्रशासकीय अधिकृत प्रकाशचन्द्र पौडेलले सहजीकरण गर्नेछन् ।