‘महिलाहरुकै कारण महिला अगाडि बढ्न सकेनन्’

चितवन, १२ माघ । समाजमा महिलाहरु पुरुषको कारणले भन्दा पनि महिलाकै कारणले पछाडि पर्ने गरेका चितवनमा आयोजित कार्यक्रममा अगुवा महिलाहरुले बताएका छन् ।
चितवनको भरतपुरमा आयोजना गरिएको महिला नेतृत्व र उद्यमशीलता विकास कार्यक्रममा सहभागी अगुवा महिलाहरुले घर परिवारकै कारण महिलाहरु अगाडि बढ्न नसकेका बताएका हुन् । आफ्नै परिवारमा रहेका सासुले बुहारीलाई, नन्दले भाउजूलाई, अमाजुले बुहारीलाई गर्ने व्यवहारका कारण महिलाहरु पछाडि परेका महिला अगुवाहरुले बताएका हुन् । घर परिवारमा साथ र सहयोग मिलेको अवस्थामा महिलाहरु राजनीति, समाजसेवा, उद्यमशील सबै क्षेत्रहरुमा सफल भएका सहभागीहरुको भनाइ छ ।
कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ ए टु नेपालकी प्रथम डिष्ट्रिक्ट भाइस गभर्नर शोभा जोशीले छोरी र बुहारीलाई समान व्यवहार गर्नुपर्ने बताइन् । लायन्स क्लब इन्टरनेशनल ३२५ बी टु नेपालले आयोजना गरेको कार्यक्रमको सह–आयोजक उद्योग वाणिज्य संघ चितवन हो भने लायन्स क्बल अफ नारायणगढ नारायणीले कार्यक्रमको आतिथ्यता गरेको थियो । सो कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनकी महिला समिति संयोजक रजनी मास्केले महिलाहरुलाई घरधन्दा सँगै सामाजिक काम गर्न गाह्रो पर्ने बताइन् ।
कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले आफ्नो संघमा छ सय भन्दा बढी महिला उद्यमीहरु रहेका बताए । महिला उद्यमीहरुलाई गएको तीजको समयमा निशुल्क रुपमा उद्योग वाणिज्य संघमा सदस्य बनाएको उल्लेख गर्दै प्रधानले महिलाहरु अगाडि बढ्नका लागि व्यवसाय आफ्नो नाममा दर्ता गराएर मात्रै नहुने बताए । व्यवसाय नाममा दर्ता गराएजसरी नै सामाजिक क्रियाकलापहरुमा समेत सक्रिय सहभागी हुँदै आफ्नो व्यवसाय आफैले सञ्चालन गर्न सक्ने अवस्थामा पुग्नुपर्ने प्रधानले बताए ।
सो कार्यक्रममा उद्योग वाणिज्य महासंघकी सदस्य एवम् महिला उद्यमी विकास समितिकी संयोजक कमला श्रेष्ठ, लायन्स क्लब इन्टरनेशनल ३२५ बी टुका डिष्ट्रिक्ट गभर्नर सुनील ओझा, लायन्स क्लब इन्टरनेशनल ३२५ बी टु नेपालका डिष्ट्रिक्ट चिफ एडभाइजर रामप्रसाद भट्टलगायतले तालीम तथा सेमीनारले महिलालाई उद्यमी बन्न प्रेरित गर्ने बताएका थिए । महिलाहरुले आयआर्जनको क्षेत्रमा काम गर्न थालेपछि समाजमा उनीहरुको स्थान उच्च हुने सहभागीहरुको भनाइ थियो । कार्यक्रम लायन्स क्लब इन्टरनेशनल ३२५ बी टु नेपालकी महिला तर्फको नेतृत्व र सीप विकास संयोजक प्रविना श्रेष्ठको अध्यक्षतामा भएको थियो ।