नेपालको दियो यूएईलाई ११४ रनको लक्ष्य

काठमाडौं, माघ ११ । कमजोर ब्याटिङ प्रदर्शनले निरन्तरता पाएको खेलमा नेपालले शुक्रबार पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा युनाइटेड अरब इमिरेट्स(यूएई)लाई १ सय १४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बलिङमा राम्रो गरे पनि ब्याटिङमा सधै समस्या झेल्दै आएको नेपालले शुक्रबार ब्याटिङ लाइनअफमा केही परिवर्तन गरेको थियो । मध्यक्रममा ब्याटिङ गर्ने विनोद भन्डारीलाई ओपनरका रुपमा पठाएको नेपालले सोमपाल कामीलाई पनि ‘टु डाउन’ मा ब्याटिङ गराएको थियो । त्यस्तै पहिलो पटक राष्ट्रिय टोलीमा परेका पवन सर्राफलाई डेब्यू गराएको थियो ।
तर ब्याटिङमा नेपालको कुनै पनि रणनीति प्रभावकारी देखिएन । नेपालले ३४ ओभरसम्म मात्र खेल्न सक्यो । दुबईस्थित अइसिसी एकेडेमी ओभलमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको नेपालले ३३.५ ओभरमा सबै विकेट गुमाएर १ सय १३ रन मात्र बनाउन सक्यो ।

नेपालका सोमपाल कामीले ३०, आरिफ शेखले २५, कप्तान पारस खड्काले २० र सन्दीप लामिछनेले १५ रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । लेग स्पिनर सन्दीप र आरिफले तल्लोक्रममा साझेदारी गर्दा नेपाल १ सय रनको योगफल कटाउन सफल भएको थियो । ८१–८ को स्थितीबाट सन्दीपले आरिफले नवौं विकेटका लागि २५ रनको साझेदारी गरेपछि नेपाल १ सय रनको योगफल कटाउन सफल भएको हो ।

त्यसअघि पारस खड्का र सोमपाल कामीले तेस्रो विकेटका लागि २८ रनको साझेदारी गरेका थिए भने सोमपाल र आरिफले पाँचौ विकेटका लागि २४ रनको साझेदारी गरेका थिए । नेपालको इनिङमा बनेको ठूला साझेदारी यी मात्र हुन् ।

यूएईका कप्तान मोहम्मद नाभीद र अमिर हायतले समान ३÷३ विकेट लिँदा इमरान हैदरले २ तथा कादीर अहमदले १ विकेट लिए ।