सरकारको मूल्याङ्कन गर्ने बेला भइसकेको छैन: मन्त्री बस्नेत

काठमाडौँ, १० माघ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पाँचवर्षे सरकारको कामको अहिल्यै मूल्याङ्कन गर्ने समय भइनसकेको बताउनुभएको छ ।

गणेश हिमाल पर्यटन समाजले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले संविधान जारी भएपछि बनेको वर्तमान सरकारलाई संक्रमणकाल व्यवस्थापनको समेत जिम्मेवारी आएका कारण तत्काल देखिने गरी काम हुन नसकेको उल्लेख गर्नुभयो । संक्रमणकालमा गर्नुपर्ने प्रशासनिक पुनःसंरचना, वित्तीय व्यवस्थापन तथा नयाँ संविधानअनुसारका ऐन÷कानून निर्माणका कामसमेत सरकारले गर्नुपरेकाले एक वर्षको समय त्यसैमा बितेको मन्त्री बस्नेतको भनाइ थियो ।

आगामी फागुन २१ गतेभित्रै ती सबै काम सक्नुपर्ने संवैधानिक सीमा रहेकाले मन्त्री बस्नेतले सरकार नीति निर्माणसँगै विकास निर्माण, आर्थिक समृद्धि र जनताका अपेक्षाअनुसारका काममा केन्द्रित भएको बताउनुभयो । दुई तिहाइ बहुमतको वर्तमान सरकारबाट जनताले उच्च अपेक्षा राख्नुलाई गलत भन्न नहुने उहाँको धारणा थियो । जनअपेक्षाअनुसार काम अघि बढाउन आवश्यक कानून र संरचना निर्माण भइसकेकाले अब तीव्र गतिमा सरकार अघि बढ्ने मन्त्री बस्नेतले बताउनुभयो । रासस