फेरी प्रहरी ईन्काउन्टर : एक जना मारिए

सप्तरी, ९ माघ । प्रहरी ईन्काउन्टरमा फेरी एक जनाको ज्यान गएको छ । सप्तरीको रुपनी गाउँपालिकाको रुपनी– राजविराज सडक खण्डमा भएको ईन्काउन्टरमा ३० वर्षीय दिपेन्द्र चौधरी मारिएका हुन् । सप्तरीको सुरुङ्गा नगरपालिका कडरबोनाका बिहान साढे ४ बजेतिर प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा चौधरी मारिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए ।

रुपनी चोकदेखि करिब एक किलोमिटर दक्षिण सडकमा सवारी साधन चेकजाँच गरिरहेको प्रहरी टोलीलाई लक्षित गरी दक्षिणतिरबाट आएको मोटरसाइकलमा चढेका व्यक्तिले गोली प्रहार गरेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको जनाएको छ ।

तीब्र गतिमा आउँदै गरेको मोटरसाइकल रोक्न इशारा गर्दा पनि नरोकी मोटरसाइकलको पछाडि बसेका व्यक्तिले गोली प्रहार गरेपछि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको प्रहरी उपरीक्षक विष्टले बताए । नम्बर नखुलेको मोटरसाइकलसहित चालक भने फरार भएकाले खोजी भईरहेको छ ।

प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा मारिएका चौधरी २०७२ सालमा सप्तरीको झुटकी प्रहरी चौकीका असई रेसम सुब्बाको गोली हानी हत्यामा संलग्न रहेको बताइएको छ ।

तराईको सशस्त्र समूह गोइत समूहको पूर्व कार्यकर्ता रहेका चौधरी इलाका प्रहरी कार्यालय कडरबोनाको गस्तीमा रहेको भ्यानलाई लक्षित गरी २०७४ साउन २१ गते राती सुरुङ्गा नगरपालिका ५ श्रीपुर गाउँमा बम बिस्फोट लगायतका घटनामा संलग्न रहनुका साथै सप्तरीको बिसनपुर चोकमा डयुटीमा रहेका प्रहरी हबल्दारमाथि गोली प्रहार गर्ने घटनामा समेत सलग्न रहेको प्रहरी उपरीक्षक विष्टले बताए ।