चट्याङबाट एक जनाको मृत्यु

परशुराम, ८ माघ । डडेल्धुरामा चट्याङ लागेर आज एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।मृत्यु हुनेमा आलिताल गाउँपालिका–३ बागथलाका ३० वर्षीय हर्कबहादुर थापा रहेका छन् । बिहान घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर थापाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिनुभयो । आलिताल गाउँपालिका–५ भित्रिसेनमा चट्याङ लागेर मानबहादुर विष्ट र गोमती विष्ट घाइते भएका छन् । दुवैलाई उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल लगिएको छ । रासस