समयको ख्याल गर

समय बलवान छ । समय अनुसार हामी सबै चल्न सक्नुपर्छ । समय अनुसार चल्न सकिएन भने कतिपय महत्वपूर्ण कामहरु छुट्ने तथा बिग्रने हुन सक्छन् । विज्ञानले जति सुकै चमत्कार गरेको भएपनि समयलाई रोक्न भने सकिएको छैन । समयले मानिसलाई चलाउने काम गर्छ । अझ भनौँ घडीको सुईको गतिमा हामी चल्नुपर्ने हुन्छ । घडीको सुईको निर्देशनमा चलिएन भने ठूलै नोक्सान समेत चुकाउनुपर्ने अवस्था आउन सक्छ । हामीले थोरै समयलाई ख्याल गरेका हुदैनौँ । जानाजान हामीले लापरबाही गर्दा समयले नेटो काटिसकेको हुन्छ ।
पछिल्लो समय आयोजना गरिने विभिन्न कार्यक्रमहरु निर्धाति समयभन्दा निकै अबेर गरि सञ्चालन गरिएका छन् । भनिन्छ एक एक सेकेन्ड समयको ठूलो महत्व छ । बितिसकेको समयलाई हामीले फर्काउन सक्दैनौँ । एउटा सामान्य कार्यक्रम एक दुई घण्टा ढिला गरिदिँदा त्यसले दिनभरीको काममा प्रभाव पारिरहेको हुन्छ । हामीले भोलिपल्टको दैनिकी अघिल्लो दिनमा नै तयार पारेका हुन्छौँ । कतै कुनै काममा जान वा कुनै महत्वपूर्ण भेटघाटका लागि तयार पारिएको कार्यक्रममा एक ठाउँमा ढिला हुने बित्तिकै यसले दिनभरीकै काममा असर परेको हुन्छ ।
पछिल्लो समय आयोजना गरिने औपचारिक कार्यक्रमहरुमा समयलाई ख्याल गरेको पाइदैन । आयोजकले एक दुई जनाको ईच्छा अनुसार कार्यक्रमलाई ढिला सुरु गर्छन् । निर्धारित समयमा कार्यक्रम सुरु हुन नसक्दा कतिपय मानिसहरु कार्यक्रम छोडेर जानुपर्ने हुन्छ । त्यस्तै, कति मानिसले आफ्नो अरु कामबाट हात झिक्नुपर्ने अवस्था आउँछ । पछिल्लो समयको कुरा गर्ने हो भने चितवनको गरिमा र गौरवमय प्रस्तुती भन्दै आयोजना गरिएको चितवन महोत्सवमा समयको ख्याल कत्ति पनि गरिएको पाइदैन । अझै महोत्सवका अवसरमा आयोजना हुने गोष्ठी तथा सेमिनार दुई घण्टासम्म ढिला भएर सुरु भएका छन् ।
उद्योग वाणिज्य संघ जस्तो एउटा व्यवसायीको प्रतिष्ठित संस्थाले समयमा नै कार्यक्रम सुरु नगर्दा यसले अन्य सेवाग्राहीलाई मर्का परेको छ । ११ बजे कार्यक्रम आयोजना गर्ने भनेर निमन्त्रणा गरिएको भएपनि १ बजे मात्रै कार्यक्रम सुरु हुँदा यसले धेरैलाई मर्कामा पारेको छ । उद्योग वाणिज्य संघमा भएको घटना एउटा प्रतिनिधि घटना मात्रै हो । पछिल्लो समय औपचारिक कार्यक्रम गर्ने र समयको ख्याल नगर्ने प्रवृत्ति सबै ठाउँमा हावी भएको छ । एक दुई जनाको कारणले धेरैलाई पर्खाउने काम कदापी राम्रो होइन । सबैले समयको महत्व बुझ्दै समयमा कार्यक्रम गरेर समयमा नै सक्ने बानी बसाल्न सक्यौँ भने समृद्धिको सुरुआत हुनेछ ।