प्रधानमन्त्री ओली आज स्विट्जरल्याण्ड जाँदै

काठमाडौं,६ माघ ।  प्रधानमन्त्री केपी ओली आइतबार स्विट्जरल्याण्ड जाँदै हुनुहुन्छ । माघ ८ देखि ११ गतेसम्म डाभोसमा हुने विश्व आर्थिक मञ्चको बैठकमा भाग लिन प्रधानमन्त्री त्यसतर्फ जान लाग्नुभएको हो ।

सन् १९७४ देखि हुन थालेको विश्व आर्थिक मञ्चको डाभोस बैठकमा नेपालले पहिलो पटक भाग लिन लागेको हो । यसले विश्व आर्थिक परिदृश्यमा नेपाल पनि पर्न थालेको अनुभव गरिएको छ । प्रधानमन्त्री ओलीले सो बैठकका दुई वटा सत्रलाई सम्बोधन गर्नुहुनेछ ।

डाभोस स्विट्जरल्याण्डको सुदूरपूर्वी ग्राउबुन्डेन क्यान्टनमा पर्ने एक सानो हिमाली शहर हो । सो बैठकमा भाग लिन आएको निमन्त्रणा र भ्रमणबाट नेपाललाई हुने उपलब्धिबारे प्रधानमन्त्री ओलीले शुक्रबार संसदमा सम्बोधन गर्नु भएको थियो ।

सातदिने भ्रमणमा मञ्चको बैठकको साइडलाइनमा विभिन्न देशका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरुसँग महत्वपूर्ण भेटघाट हुनसक्ने पनि प्रधानमन्त्रीले बताउनुभयो । डाभोस फोरम आर्थिक विषयवस्तुमा बहस, मन्थन गर्ने महत्वपूर्ण संस्था भएकाले हाम्रा विकासका अनुभव र आकांक्षाबारे सुनाउन पनि सो मञ्च उपयुक्त हुने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भनाइ छ ।

प्रधानमन्त्रीको नेतृत्वमा बैठकमा भाग लिन जाने २० सदस्यीय टोलीमा प्रधानमन्त्री ओली, प्रधानमन्त्रीका धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत हुनुहुन्छ । बैठकमा जर्मनीका चान्सलर एन्जेला मर्केल, जापानका प्रधानमन्त्री शिन्जो आबे, स्विटजरल्याण्डका राष्ट्रपति उएली माउरर, ब्राजिलका राष्ट्रपति जाइर बोल्सारो, चीनका उपराष्ट्रपति वाङ छिसान लगायतले भाग लिनुहुने कार्यक्रम छ ।