कालिका मन्दिरमा चोरी गर्दा गर्दै एक व्यक्ति पक्राउ

शिशिर सिंखडा
चितवन, ११ मंसिर । कालिका नगरपालिका वडा नं. ८ स्थित कालिका मन्दिर परिसरबाट काठ चोरी गर्दा गर्दै एक व्यक्ति पक्राउ परेका छन् ।
कालिका नगरपालिका वडा नं. ७ का ४० वर्षीय भिम घर्ती गत ६ गते राती पक्राउ परेका हुन् । मन्दिर परिसरमा रहेको प्रतिक्षालयको फलेक उप्काई लाने क्रममा उनी पक्राउ परेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख (डिएसपी) दयानिधि ज्ञवालीले जानकारी दिए ।
गत ४ गते राती पनि सोही प्रतिक्षालयबाट फलेक उप्काई चोरी भएको थियो । सो चोरीको घटना भएपछि प्रहरी र मन्दिर व्यवस्थापन समितिले निगरानी गर्ने क्रममा उनी पक्राउ परेका डिएसपी ज्ञवालीले जानकारी दिए ।
पक्राउ परेका घर्तीको साथमा १४ थान सालको फलेक, १ थान साइकल, हसिया, डोरी र लाइट समेत बरामद गरिएको छ । उनलाई चोरी मुद्दामा कारवाही अगाडि बढाइएको समेत डिएसपी ज्ञवालीले जानकारी दिए ।
यस अगाडि सोही मन्दिर भित्रैबाट नगद, सुनका गहना लगायतका सामानहरु पनि चोरी भएकोले प्रहरीले खोजी कार्यलाई जारी राखेको समेत उनले बताए ।