अध्यक्ष प्रचण्डले भने – शान्ति प्रकृयाको सम्पूर्ण बाँकी काम असारभित्रै टुंगिन्छ, द्वन्द्वपीडितको पीडा घटेको छ

चितवन, ५ मङ्सिर । पूर्वप्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी कामहरु आउँदो जेठ/ असार भित्रमा सबै टुंगो लाग्ने बताएका छन् ।आज भरतपुर विमान स्थलमा प्रेस चोतारी र प्रेस सेन्टर नेपालले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले   प्रधानमन्त्रीको चाहना र उहाँको भनाई अनुसार नै शान्ति प्रक्रियाका सबै काम टुङगो लाग्ने बताए ।

साथै उनले द्वन्द्वपीडितको पीडा घटेको बताए । द्वन्द्वपीडितको अवस्था विगतको भन्दा राम्रो भएको उनको भनाईछ ।विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पुग्दा पनि द्वन्द्वपीडितको अवस्था जस्ताको त्यस्तै रह्यो भन्ने प्रश्नमा उनले भने , “द्वन्द्व पीडितको पीडा उस्ताको उस्तै चाहिँ छैन । पहिलाको भन्दा त धेरै घटेको छ । तै पनि अहिले अब हामी राजनीतिक तह र कानूनी तहमा पनि गम्भीर रुपले गृहकार्य गरिराखेका छौँ ।”

शान्ति सम्झौताको हस्ताक्षरकर्ता समेत रहनुभएका दाहालले थपे “प्रधानमन्त्री कै चाहनाको कुरा गर्ने हो भने संयुक्त राष्ट्रसंघ, कोस्टारीकामा जस्तो मन्तव्य दिनुभएको छ त्यसले शान्ति प्रक्रियाका बाँकी काम र पीडितलाई परिपूरणका कुरा या सत्य निरुपण र बेपत्ताका विषय आउने जेठ असारसम्म पूरै टुङ्ग्याउने किसिमले काम भइरहेको छ ।”

उनले भरतपुर विमानस्थल विस्तारको कामका लागि अहिले छलफलमा नै रहेको बताए ।

तस्बिर : नारायण अधिकारी रासस