शान्ति समाजको परिषद् बैठक विराटनगरमा

काठमाडौँ, ५ मङ्सिर । मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा, सद्भाव र सहिष्णुताका लागि कार्यरत स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाजको २१ औँ राष्ट्रिय परिषद् बैठक मङ्सिर १४ र १५ गते विराटनगरमा हुने भएको छ । ‘जगत्मुखी, जीवनमुखी, सेवामुखी उद्देश्य’ भन्ने मूल नारासहित आयोजना हुने राष्ट्रिय परिषद् बैठकलाई सफल बनाउन मूल तयारी समितिसहित उपसमिति गठन गरिएको छ ।

बैठकलाई नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गगन थापा, नागरिक अगुवा डा देवेन्द्रराज पाण्डे र कृष्ण पहाडीले सम्बोधन गर्नुहुने कार्यक्रम छ । परिषद् बैठकमा ५० भन्दा बढी जिल्लाबाट प्रतिनिधि तथा पर्यवेक्षक गरी ३०० भन्दा बढीको सहभागिता रहने समाजले जनाएको छ ।

मङ्सिर १४ गते दिउँसो १ बजे विराटनगरमा बृहत् शान्ति ¥याली गरिने जनाइएको छ । मङ्सिर १५ गते साँझ ६ बजे विराटनगरमा शान्ति काव्य प्रवाह पनि आयोजना हुनेछ । परिषद् बैठककै अवसरमा विराटनगरका एक दर्जनभन्दा बढी विद्यालयमा ‘शान्ति हाम्रो अधिकार’ शीर्षकमा अन्तक्र्रिया, वातावरणीय चेतना र वृक्षरोपण कार्यक्रम पनि हुनेछ ।

राष्ट्रिय परिषद् बैठकमा मानवअधिकार रक्षकको सुरक्षा, सङ्क्रमणकालीन न्याय प्रक्रिया, महिला र बालबालिकाको विशेष सुरक्षालगायतका विषयमा केन्द्रित रही आठ प्रस्तावमा छलफल हुनेछ । मङ्सिर १५ गते शान्ति समाजको केन्द्रीय कार्यसमितिका लागि निर्वाचन हुनेछ । रासस