क्लबको स्थापना दिवसमा चितवन मानव सेवा आश्रममा खाना खुवाइयो

चितवन, ०४ मंसिर । चितवनको नारायणगढमा रहेको लायन्स क्लब अफ नारायणगढ बालकुमारीले स्थापना दिवसको अवसरमा असहाय व्यक्तिहरुलाई खाना खुवाएको छ ।
क्लबको १७औँ स्थापना दिवसको पूर्वसन्ध्यामा भरतपुर ९ शरदपुरमा रहेको चितवन मानव सेवा आश्रममा रहेका मानिसहरुलाई मंगलबार खाना खुवाइएको हो । लायन्स क्लब अफ नारायणगढ बालकुमारीले आफ्नो स्थापना दिवसको अवसर पारेर वर्सेनि विभिन्न कार्यक्रम गर्दै आएको छ । लायन्स क्लब अफ नारायणगढ बालकुमारीका अध्यक्ष बालगोपाल चुकेले आगामी दिनमा क्लबको स्थापना दिवस पारेर हरेक वर्ष आफूले चितवन मानव सेवा आश्रमका व्यक्तिहरुलाई खाना खुवाउने बताए ।

१७औँ स्थापना दिवसको अवसरमा आयोजित भोजन कार्यक्रममा आश्रमकी अध्यक्ष ममता शर्माले आफूहरुले जग्गा पाएमा आश्रम सञ्चालन गर्न सहज हुने बताइन् । लायन्स क्लब अफ नारायणगढ बालकुमारीका पूर्व अध्यक्ष ईश्वरकुमार राजभण्डारीले कार्यक्रमबारे प्रकाश पारेको सो कार्यक्रमको सञ्चालन ईश्वरी प्रसाद खरालले गरेका थिए । लायन्स क्लब अफ नारायणगढ बालकुमारीले बुधबार रामेश्वर पुस्तकालयमा आफ्नो स्थापना दिवस मनाउँदैछ ।