खुल्दै पुर्वराजाका अतिगोप्य कक्ष

काठमाडौँ, ४ मंसिर । पुर्वराजा ज्ञानेन्द्र र स्वर्गिय राजा वीरेन्द्रले कार्यालय समयपछि विशेष परिस्थितमा राजनितिक र कुटनीतिक भेटघाटका लागि निजी कार्यालयको रुपमा प्रयोग गर्दै आएको नारायणहिटी संग्रहालय अन्तर्गत गणेश हिमाल तर्फका ९ वटा कक्ष खुल्ने भएको छ ।

लामो समयको प्रयासपछि पुरातत्व विभागले ती कक्ष खुला गर्न लागेको हो । देशमा विषम परिस्थिति हुदा पूर्वराजा ज्ञानेन्द्रले समेत गणेश हिमाल तर्फका विभिन्न कक्षमा अति गोप्य भेटघाट गर्ने गर्नु भएको थियो । पूर्वराजा वीरेन्द्रको वंशनासपछि केही समय नारायणहिटी राजदरबारबाट शासन संचालन गर्दा पूर्वराजा ज्ञानेन्द्रले गणेश हिमाल तर्फका विभिन्न कक्षमा कुटनितिक नियोग र राजनीतिक व्यक्तिलाई भेट गर्ने गर्नु भएको थियो ।

कार्यालय समयपछि खुला हुने ती कक्षमा गोप्य कुराकानीका लागि प्रयोग गर्ने गरिएको थियो । गणेश हिमाल कक्ष नजिक गोप्य रुपमा सवारी साधन प्रवेश गरेपछि कुन समयमा को संग भेटघाट गर्ने भन्ने विषय अन्य कसैलाई जानकारी हुदैन थियो ।

निजी तर्फका दुई –तीन निजी कर्मचारी बाहेक पूर्वराजाले को संग भेट गर्नुभयो विषयमा भन्ने समेत जानकारी नहुने गरी गोप्य रुपमा ती कक्षहरु प्रयोग हुदै आएको थियो ।

वीरेन्द्रले प्रयोग गरेका सबै कक्ष पूर्वराजा ज्ञानेन्द्रले प्रयोग गर्नुभएको थियो । देशमा २०६२–२०६३ सालको आन्दोलन चर्किएको बेला पूर्वराजा ज्ञानेन्द्रले गणेश हिमाल कक्षको विभिन्न कोठामा विभिन्न निकायका उच्च राजनितिक दलका नेता,कुटनीतिक नियोगका प्रमुख,राजदूत लगायतका उच्च अधिकारीसंग विशेष भेटघाट गर्ने गर्नुभएको थियो । विभागले यही मंसिर ९ गते पूर्व राजाका अति गोप्य बैठक कक्ष खुला गर्ने भएको छ ।

गणेश हिमाल तर्फको सप्तरी, सुनसरी, सिराहा, धनुषा, पर्सा, कपिलवस्तु, झापा, इलाम र सिन्धुली, कक्ष खुला गर्ने भएको छ ।
‘हामी रंग रोगन गरी सामग्री सजाउने काममा लागेका छौ‘–नारायणहिटी संग्रहालयका प्रमुख अद्धैतप्रकाश श्रेष्ठले भन्नुभयो–बांकी जानकारी कक्ष खोलेपछि गरौला ।

खोलिने तयारीमा रहेका कक्ष मध्य झापा र इलाम कक्षमा पूर्व राजाको अति गोप्य भेटघाटको रुपमा प्रयोग गरिन्थ्यो । पुर्वराजाले ती कक्षहरुमा आफ्ना केही निजी कर्मचारी बाहेक अन्यलाई प्रवेशमा पूर्ण रोक लगाइएको थियो ।
हाल खुल्न लागेको कक्षहरु मध्य केही पूर्वराजाले कार्यालय समय पछि मात्र खोल्ने र भेटघाट गर्न प्रयोग गर्ने गरेका थिए । इलाम कक्षमा पुर्वराजाले हरेक हप्ताको बिहीबार प्रधानमन्त्रीसंग गोप्य भेटघाट गर्ने गरेका थिए । आजको नेपाल समाचारपत्रमा खबर छ ।