प्राविधिक शिक्षा सञ्चालनको लागि शहिद स्मृतीमा महायज्ञ

 भरतपुर मङ्सिर ०३ । सहिद स्मृति माध्यामिक विद्यालय पारसनगरको आयोजनामा हुने श्रीमद् भागवत धनधान्याञ्चल ज्ञान महायज्ञलाइ सफल बनाउन प्रत्येक दिन उपसमितिको बैठक बस्ने गरेका छन् । विद्यालयको स्तरोन्नती तथा प्राविधिक शिक्षा सञ्चालनको लागि भरतपुर महानगरपालिका वडा नम्बर ०६ पारसनगरमा रहेको विद्यालयले स्वर्ण महोत्सबको अबसरमा श्रीमद् भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ गर्न लागेको हो । पौष ५ गते देखि १३ गते सम्म विद्यालयले महायज्ञ संचालन गर्नेछ भने माघ २० गते स्वर्ण महोत्सबको समापन कार्यक्रम गर्नेछ । 

धनधान्याञ्चललाइ सफल बनाउन दैनिक ४ देखि ६ वटा उपसमितिको बैठक बसी जिम्मेवारी बाडफाड हुने गरेका छन् । आज (सोमबार) झाकी ब्यबस्थापन,गेट ब्यबस्थापन,शारीरिक ब्यायाम तयारि ब्यबस्थापन समिति र आवास ब्यबस्थापन समितिको बैठकले आ(आफ्नो जिम्मेवारी तय गरेका हुन् ।

बिद्यालयका प्रधानाध्यापक दीपेश पौडेलले आर्थिक, भौतिक र नैतिक रुपमा सहयोग गरि महायज्ञलाइ सफल बनाउन सम्पूर्ण धर्म अनुरागीमा आग्रह गरे । उनका अनुसार सरकारी बिद्यालयमा कक्षा १० सम्म पूर्ण रुपमा निशुल्क अंग्रेजी माध्यमबाट पठाई हुने यहा आवस्यक भौतिक पूर्वाधारको अभाबमा दैनिक शैक्षिक क्रियाकलाप संचालन गर्न कठिन भएको छ । छोटो अवधिको पढाइबाट पनि रोजगार सुनिश्चित हुने र विद्यार्थीको आकर्षण पनि प्राविधिक शिक्षामा बढ्दै गएकोले विद्यालयले शैक्षिक कार्यक्रम थप गर्ने उद्देश्यले श्रीमद् भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ गर्न लागेको विद्यालयका प्रध्यानध्यापक दिपेश पौडेलले जानकारी दिए ।

विद्यालयको परिसरमा पौष ५ गते देखि १३ गते सम्म हुने श्रीमद भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ एवम् स्वर्णमहोत्सव समारोहमा युवा पण्डित बालकृष्ण अर्यालले कथा बाचन गनुहुनेछ । विद्यालयले महायज्ञ बाट चार करोड पचास लाख संकलन गर्ने लक्ष्य राखेको छ, भने महायज्ञ सम्पन्न गर्न करिब ४० लाख खर्च हुने अनुमान गरिएको छ ।

नर्सरी देखि कक्षा १० सम्म अध्यनअध्यापन हुने विद्यालयमा महायज्ञमा संकलित रकमबाट प्राविधिक शिक्षा संचालन संगै कक्षा ११ र १२ समेत संचालन गर्ने लक्ष्य राखिएको छ । त्यसको लागि अहिले ८ कठ्ठा क्षेत्रफल रहेको विद्यालयको जमिन बढाउदै भवन संगै भेटनरी विषय र इलेक्ट्रीक प्लमीङ्ग विषयका कार्यक्रम पनि विद्यालयले सुरु गर्नेे लक्ष्य राखेको श्रीमद् भागवत धनधान्याञ्चल ज्ञान महायज्ञ एवम् स्वर्णमहोत्सव समारोहका प्रवक्ता भगीरथ तिमल्सिनाले जानकारी दिनुभयो ।

२०२४ सालमा स्थापना भएको श्री सहिद स्मृति माध्यामिक विद्यालयमा कक्षा १० सम्म पूर्ण रुपमा निः शुल्क अंग्रेजी माध्यमबाट पठाई हुदै आएको छ । जम्मा २४ वटा कोठा रहेको विद्यालयमा ५ सय भन्दा बढि विद्यार्थी अध्यनरत छन् । निशुल्क अंग्रेजी माध्यमको पठनपाठन,कक्षा कोठामा स्मार्ट बोर्ड , प्रोजेक्टर मार्फत कक्षा संचालन, इ(लाइब्रेरि, साइन्स ल्याब लगाएतको व्यवस्था गरेपनि विद्यालयलाई आवश्यक भौतिक पूर्वाधार र खेल मैदानको अभाब छ ।A