भरतपुर विमानस्थल बाहिरको सडक सरसफाई, नगर प्रमुख, उपप्रमुख प्रमुख प्रशासकीय अधिकृत अनुपस्थित

चितवन, ०३ मंसिर । भरतपुर महानगरपालिकाले सुरु गरेको नगर सरसफाई अभियान चौथो हप्तामा प्रवेश गरेको छ । महानगरपालिकाले हरेक हप्ताको सोमबार नगर सरसफाई गर्दै आएको छ ।
स्थानीय टोल विकास संस्था, सरसफाईसँग सम्बन्धित विभिन्न संघसंस्था, महानगरपालिकाका कर्मचारीलगायतका व्यक्तिहरुको सहभागितामा नगर सफाई अभियान सञ्चालन भइरहेको छ । यसै क्रममा सोमबार भरतपुरको चौबिसकोठीदेखि हाकिसचोकसम्म सरसफाई गरिएको छ । विमानस्थलको दायाँवायाँ फोहोर बढ्दै गएकाले सो क्षेत्रमा सरसफाई गरिएको हो ।
शसस्त्र प्रहरी, ट्राफिक प्रहरी, स्थानीय बासिन्दा, टोल सुधार समितिका पदाधिकारी तथा सदस्यहरु, महानगरपालिकाका कर्मचारीलगायत सरसफाईमा सहभागी भएका थिए । महानगरपालिकाले अभियानको रुपमा सरसफाई सुरु गरेको भएपनि सोमबारको सरसफाई कार्यक्रममा महानगरपालिकाका नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत कसैको पनि उपस्थिति देखिएको थिएन ।