सीता दाहाल भन्छिन् : प्रकाश सोझो र इमानदार छोरो

 सीता दाहाल

प्रकाश जन्मने बेला उसको बुवा भूमिगत हुनुहुन्थ्यो, हामी चितवनको शिवनगरमा बस्थ्यौं। केटाकेटी, बस्तुभाउ, घरबार सबै धान्नु मेरै जिम्मेवारी थियो। सानोमा प्रकाश साह्रै बिरामी परिरहन्थ्यो। के गरी निको हुन्छ भन्दै म दौडिरहन्थें। सानोमा निकै दुःख गरेर हुर्काएँ मैले।

प्रकाश जन्मिएको केही महिनापछि नै हामी छुट्टियौं र क्षेत्रपुर बसाइँ सर्‍यौं। प्रकाशले नारायणगढको स्कूलमा पढ्न थाल्यो। साह्रै असल, सोझो र मायालु स्वभावको थियो प्रकाश। गोरो, राम्रो थियो ऊ, गाउँमा सबैले मन पराउँथे। सबैसँग छिट्टै घुलमिल हुन्थ्यो, गाउँभरिका मान्छे झुम्मिन्थे ऊसँग।

८-९ वर्षको उमेरदेखि नै उसले हाम्रो माया पाउन सकेन। बुवा भूमिगत हुनुहुन्थ्यो, म चितवनमै थिएँ, ऊ दिदीहरुसँग पढ्न काठमाडौं आयो। जनयुद्ध सुरु भएपछि पञ्जाबमा बसेर पढ्यो। हाम्रो कहिलेकाहीँ मात्र भेट हुन्थ्यो, जनयुद्धकालभरि पनि छोराका रुपमा माया गर्ने परिस्थिति नै बनेन। हाम्रो राम्रो माया नपाइकन हुर्कियो प्रकाश।

बाहिर मान्छेहरुले जसरी बुझे, भित्र प्रकाश त्यस्ताे छँदै थिएन। उसले कुनै कुरा पनि झुटो बोल्दैन्थ्यो, जो बोल्थ्यो, साँचो बोल्थ्यो। उसमा कुनै घमण्ड थिएन, देखेको कुरा बोल्थ्यो। कसैसँग लोभ वा लिनुदिनु पनि थिएन उसलाई। ऊ एकदमै दयालु स्वभावको थियो। बाबुआमाका लागि ज्यान दिने स्वभाव थियो। तर, शान्तिकालमा आएपछि मिडियाले उसको बारेमा अनेकथरी कुरा लेखे। तर, उसको यथार्थ खोतल्ने प्रयास कसैले पनि गरेनन्।

प्रकाश हाम्रो आज्ञाकारी छोरो थियो। बुवाले भनेको सबै कुरा मान्थ्यो, बुवाको राजनीति कसरी राम्रो बनाउने, बुवालाई कसरी सफल पार्ने? उसले त्यही कुरा मात्र सोच्थ्यो। परिवारमा पनि कसैसँग नराम्रो थिएन। तर, उसको वैवाहिक जीवन भने सफल र सुखद हुन सकेन। उसका पनि आफ्नै पीडा थिए, कति कुरा उसले चाहेर पनि भन्दैनथ्यो, कति कुरा बुवाको जिम्मेवारीले पनि भन्न मिल्दैनथ्यो, यस्तै चेपुवामा थियो ऊ।

यति छिट्टै छोरालाई बिदा गर्नुपर्ला भनेर मैले कहिल्यै कल्पना गरिनँ। तर, दुःखद घटना भयो। परिवारमा एकपछि अर्को विपद् आइहाल्दा हामी सबै विक्षिप्त भयौं। आजसम्म हामीलाई सम्हालिन कठिन भइरहेको छ। तर, उसले देशका लागि, पार्टीका लागि गरेको योगदान सम्झँदा गौरव लाग्छ, यसैमा चित्त बुझाएका छौं।

(दिवंगत प्रकाशको स्मृतिमा आजै सार्वजनिक ‘प्रकाश दाहाल’ स्मृति ग्रन्थबाट।)