चितवनको रत्ननगरमा चित्रसारी मेला सुुरू

चितवन ,३ मंसिर । हरेक वर्ष ठूली एकदशीको अवसरमा लाग्ने चित्रसारी मेला आइतबार बेलुकीदेखि रत्ननगरमा सुरू भएको छ ।चित्रसेन बाबा मन्दिर व्यवस्थापन समिति र चित्रसेन क्लबको व्यवस्थापनमा हरेक वर्ष रत्ननगर–८, चित्रसारीमा सो मेला लाग्दै आएको छ ।

एकदशीको दिन चित्रसारीमा रहेको चित्रसेन मन्दिरमा भक्तजनहरु पूजा गर्न आउने र पूजा गरिसकेपछि मेलामा किनमेल गरेर फर्कने गरेका छन् ।

मेलामा ऊखु, सखरखण्ड, बदाम, सुन्तला तथा खेलकुदमा राउण्डबत्ती मेलाको मुख्य आर्कषण हुन् । विगतका वर्षहरुमा भक्तजनले उपवास बस्दा खाने फलफूललगायत सामग्री खरिद गर्ने मेला पछिल्लो समय व्यावसायिक बनेको छ ।

पछिल्लो समय मेलामा सबै प्रकारका सामग्रीहरुको स्टल रहने गरेको छ । मेलामा साना ठूला गरी करिब २०० वटा स्टल रहेका छन् ।

मेलामा आज सोमबार घुइँचो लाग्ने गर्दछ । चितवनकै चर्चित मेला भएकाले चितवनसहित नवलपुर र मकवानपुरबाट पनि मेला भर्न भक्तजनहरुको भीड लाग्ने गरेको छ ।