नेकपाको सचिवालय बैठक मंसिर ६ मा, स्थायी कमिटी बैठक अझै अनिश्चित

काठमाडौं,२ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को सचिवालयको बैठक मंसिर ६ गतेका लागि तय भएको छ । शुक्रबार पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमद दाहालबीच छलफलपपछि सचिवालयको बैठकको मिति तय भएको हो ।

ने क पाको सचिवालयको बैठक ७ कात्तिकदेखि बस्न सकेको छैन । पछिल्लो सचिवालयको बैठकले प्रदेश कमिटीलाई पूर्णता दिन र केन्द्रीय सदस्यहरूको कार्यविभाजनका लागि सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेलको दुई सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदलले काम नटुंग्याएको बैठक बस्न नसकेको नेताहरूले जानकारी दिएका छन् । ६ गते बस्ने सचिवालयको बैठकले प्रदेश कमिटीलाई पूर्णता दिने र केन्द्रीय सदस्यहरूको कार्यविभाजन टुंगो लगाउने विश्वास लिइएको छ ।

ने क पाको स्थायी कमिटीको बैठक असार २१ गतेदेखि यता बस्न सकेको छैन । पार्टीको अन्तरिम विधानमा स्थायी कमिटीको बैठक तीन महिनामा एकपटक बस्ने उल्लेख छ । तर, ५ महिना बित्न लाग्दा पनि स्थायी कमिटी अझै अनिश्चत भएको नेताहरूले बताएका छन् ।

अब बस्ने सचिवालयको बैठकले स्थायी कमिटीको बैठकको मिति र कार्यसूची तय गर्ने नेताहरूले जानकारी दिएका छन् ।