कृषि तथा वन विज्ञान विश्वविद्यालयको नीजिकरण विरुद्धको आन्दोलन यथावत : प्राध्यापक संगठन

चितवन, २ मंसिर । कृषि तथा वन विज्ञान विश्वविद्यालयले मिति २०७५ असार २० गते नीजि कलेजलाई दिएको सम्बन्धनको विरुद्धमा नेपाल राष्ट्रिय प्राध्यापक संगठन कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर र नेपाल प्रगतिशिल प्राध्यापक संगठन कृषि तथा वन विज्ञान विश्वविद्यालय जारी गर्दै रामपुर, चितवनले आन्दोलन जारी राख्ने बताएको छ ।
विज्ञप्तीमा भनिएको छ , दुई संगठनले आज संयुक्त विज्ञप्ती कृषि तथा वन विज्ञान विश्वविद्यालयले मिति २०७५ असार २० गते नीजि कलेजलाई दिएको सम्बन्धनको विरुद्धमा हाम्रो संगठनहरु संयुक्त रुपमा आन्दोलनरत रहेको विषय सर्वविदितै छ । सरोकारवालाहरुसँग छलफल नगरी मनोमानी ढंगले दिएको सम्बन्धनलाई मन्त्रीपरिषदको निर्णयले खारेज गरेपश्चात विश्वविद्यालयका पदाधिकारीको मिलेमतोमा नीजि कलेजहरुले सर्वाेच्चमा दायर गरेको मुद्धा हाल अग्राधिकार पाई विचाराधीन छ । आगामी पौष २६ गते अर्काे पेशी रही अन्तिम फैसला समेत आउने परिस्थिति बनेकोमा सो फैसलालाई असर पर्ने गरी विश्वविद्यालयले नीजि कलेजलाई समेत समेटेर भर्ना कमिटि गठन गरेको विरोधमा विश्वविद्यालयका सम्पूर्ण विद्यार्थि लगायत प्रायः सबै प्राध्यापकहरु आन्दोलनरत रहेका छन् । शान्तिपूर्ण आन्दोलनलाई बेवास्ता गरी, आन्दोलनरत पक्षलाई उक्साउने र आन्दोलनलाई दमन गर्न खोज्ने जस्ता गैह्रजिम्मेवार गतिविधिले विश्वविद्यालयमा प्रतिकुल परिस्थितिको सृजना भएको छ । विश्वविद्यालयमा गलत निर्णयहरु गर्दै जाने, सरोकारवालाहरुलाई निषेध गर्ने, शान्तिपूर्ण आन्दोलनमा निर्मम र अमानवीय रुपमा प्रहरी प्रशासनको दुरुपयोग गर्ने, आन्दोलनरत पक्षले लगाएको तालाबन्दि तोड्ने र विज्ञप्तिहरु प्रहरी लगाएर च्यात्ने, आन्दोलनरत विद्यार्थिहरुलाई थरपकड गर्ने, लाठि चार्ज गर्ने र अनावश्यक रुपमा तारिखमा अल्झाउँने जस्ता क्रियाकलापको हामी घोर भत्सर्ना गर्न चाहन्छौं । कृषि शिक्षाको गुणस्तरीयताको सुनिश्चितताको लागि र आम कृषि शिक्षाको लागि शुरु भएको आन्दोलन कुनै दवाब, कुनै दमनले रोकिने छैन भन्ने विषय पनि प्रतिवद्ध रुपमा राख्न चाहन्छौं । नीजिकरण विरुद्धको हाम्रो आन्दोलन यथावत रहेको र यो आन्दोलनमा सहयोग गर्नुहुन सम्पूर्ण प्राध्यापक, कर्मचारी तथा बुद्धिजिवी वर्गमा हार्दिक अपिल गर्न चाहन्छौं ।