समुदायको प्रयासमा राप्ती नदीको किनार सरसफाई

अपील घिमिरे

चितवन, ०१ मंसिर । बढ्दो शहरीकरणसँगै राप्ती नदी र यसको किनारमा फोहोर हुँदा जल प्रदुषण बढेको भन्दै यहाँका २० भन्दा बढी संस्थाहरुले नदी किनार सरसफाई अभियान सुरु गरेका छन् ।
विभिन्न संघसंस्थाको प्रयासमा शनिबार बृहत कार्यक्रम गरि पूर्व लोथरदेखि सौराहा हुँदै पश्चिम गोलाघाटसम्मको क्षेत्रको सरसफाई अभियान शनिबार शुभारम्भ गरिएको हो । वन्यजन्तु हरु नदी र किनारमा चरण गर्ने र रमाउने डुल्ने हुँदा नदी किनारमा जथाभावि फालिने सिसा, किलाकाँटीहरुले वन्यजन्तुको खुट्टामा गडेर घाइते हुनेत तथा प्लाष्टिकजन्य पदार्थहरु जनावरले खाइदिने कारणले बिरामी पर्ने भएकाले सचेतना जगाउन कार्यक्रमको शुभारम्भ गरिएको हो । सरसफाई कार्यक्रममा मन्तव्य राख्दै प्रदेश नम्बर ३का सांसद रामलाल महतोले फोहर व्यवस्थापनमा नागरिक स्वयम् सचेत हुनु पर्ने बताए ।

कार्यक्रममा महतोले पर्यटकीय क्षेत्रलाई सुन्दर बनाउन र वातावरणीय सन्तुलन कायम गर्न प्रदेश तहमा नीति बनाएर अघि बढ्ने प्रतिवद्धता जनाए । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले अब छिट्टै तटीय क्षेत्रलाई प्लास्टिक फ्रि जोन बनाउन योजनामा लाग्ने उल्लेख गर्दै शुभारम्भ गरिएको कार्यक्रमलाई सफलताको शुभकामना व्यक्त गरे । पर्यटकीय नगरीको आकर्षण र वन्यजन्तुको वासस्थानको संरक्षण गर्न सबै एकजुट हुनुपर्ने कुरामा जोड दिदै भरतपुर महानगरपालिका वाड न २२ का अध्यक्ष विष्णुराज महतोले आगामी दिनमा सरसफाई लगयत संरक्षणका कार्यक्रमलाई निरन्तरता दिने बताए ।
पटिहानी उपभोक्ता समिति, बटुकदल गण कसरा, नेपाल रेडक्रस सोसाइटी उपशाखा पटिहानी, बेलशहर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह, ब्राइट स्टार स्काउट ट्रुप, ईको क्लब श्री मावि गंगानगर, गीतानगर जेसीज, महुरी समूह लंकु, बाग्मती सरसफाई काठमाडौ का अभियान्ताहरू, भरतपुर क्यान्सर अस्पताल सरसफाई कार्यक्रमका अभियन्ताहरू, पटिहानी यूवा तथा खेलकुद परिषद, पटिहानी स्वास्थ्य आमा समूह, न्यू गोल्डेन टाइगर यूवा क्लब, चोरी शिकारी नियन्त्रण यूवा सञ्जाल, जनजागरण अभियानलगायतका संस्थाहरुले एकै साथ सरसफाई गरेको हुन् । कार्यक्रम सरसफाई अभियन्ता अपील घिमिरेको संयोजकत्वमा भएको थियो भने कार्यक्रमलाई भरतपुर महानगरपालिका वाड नम्बर २२ ले प्रवद्र्धन गरेको थियो ।