चितवनबाट हराएका भनिएका सुदिप तेह्रथुमको होटलमा भेटिए, अष्ट्रेलियाको भिसा र सबै डकुमेण्ट फेक : डिएसपी दयानिधि ज्ञवाली

शिशिर सिंखडा
चितवन, १ मंसिर । गत कार्तिक २६ गतेदेखि बेपत्ता भएका भनिएका एक युवक आज पूर्वी नेपालको तेह्रथुम स्थित एक होटलमा फेला परेका छन् । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ६ बाग्लुङ्गेटोलका २४ वर्षीय सुदिप सापकोटा आज दिउसो करिव ३ः३० बजे सो होटलमा फेला परेका हुन् । उनको साथमा एउटा कालो ब्याग समेत रहेको प्रहरीले जनाएको छ । उनी अहिले तेह्रथुम प्रहरीको नियन्त्रणमा रहेका छन् ।
नारायणगढ बजारमा सामान खरीद गरी पुलचोकबाट कार्तिक २६ गते सोमबार करिव बेलुका ५ बजेको समयमा उनी म्याजिक चढी क्याम्पस गेटतर्फ आएका थिए । त्यहाबाट उनी हराएको परिवारजनले बताएको थियो । भारतको दिल्ली स्थित कलेजबाट कम्प्युटर इन्जिनियर पास गरेका भनिएका सुदिपको आगामी मंसिर ४ गते अष्ट्रेलिया जाने विद्यार्थी भिसा समेत लागि टिकट समेत लिइसकेको उनका बुबा गंगा प्रसाद सापकोटाले बताएका थिए ।


गत सोमबारबाट हराएका सुदिपलाई प्रहरीले मोबाइलको आइएमइआइ नम्बरको आधारमा पत्ता लगाएको इलाका प्रहरी कार्यालय टाँडीका डिएसपी एवम् घटनाका अनुसन्धान अधिकृत दयानिधि ज्ञवालीले बताए । सुदिपले मोबाइलमा प्रयोग भएको नेपाल टेलिकम र एनसेलको सिम प्रयोग नगरी सोही मोबाइलबाट इन्टरनेट चलाएको देखिएको थियो । उनले ब्लु हेभन गेष्ट हाउसको नाममा रहेको वाइफाइबाट मोबाइल चलाएको थाहा पाएपछि प्रहरीले देशैभरका होटलहरुमा अनुसन्धान र खोजतलाश गरेको थियो । उनले सुविसुको नेट चलाएको अनुसन्धानबाट देखिएको डिएसपी ज्ञवालीले बताए । सुदिपले आफ्नै ल्यापटपबाट सबै नक्कली डकुमेण्टहरु आफैले बनाएको भेटिएको छ । दुतावासमा पेश गरिएका भनिएका कागजपत्रहरु र भिसा समेत नक्कली भएको डिएसपी ज्ञवालीले बताए । यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको समेत उनले बताए ।

उनले आफ्नो ल्यापटप भने साथमा नलगी घरमा नै छाडेको पाइएको थियो ।
घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवनले विशेष अनुसन्धान टोली गठन गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख (प्रहरी उपरीक्षक) शुशिल सिंह राठौरले जानकारी दिए । सो घटनाको प्रहरी नायव उपरीक्षक दयानिधि ज्ञवालीको कमाण्डमा आइटी विज्ञ र म्यानुअल विज्ञ सहितको विशेष टोली गठन गरिएको थियो, उनले भने । आइटी विज्ञहरुले उनको मोबाइल र इन्टरनेट प्रयोगको सम्बन्धमा अनुसन्धान गरेको थियो भने म्यानुअल टोलीले खोलानाला, जंगल क्षेत्रमा सर्च तथा अनुसन्धान गरेको उनले बताए । अन्य थप टोलीले सडक, होटल लगायतका विभिन्न स्थानमा अनुसन्धान एवम् खोजी कार्य गरेको थियो । अनुसन्धान टोलीको नेतृत्व गरेका प्रहरी नायव उपरीक्षक सहितको टोलीले अनुसन्धान छिटो र सकुशल रुपमा गरेको समेत एसपी राठौरले बताए ।