प्रेस युनियन चितवनका नवनिर्वाचित पदाधिकारीहरुलाई रेडियो भरतपुरको सम्मान

भरतपुर,१ मंसिर । गत असोज २६ र २७ गते सम्पन्न नेपाल प्रेस युनियन जिल्ला शाखा चितवनको आठौं अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई आज रेडियो भरतपुर १०५।२ मेगाहर्जले सम्मान गरेकोछ । रेडियो भरतपुरको कार्यालयमा गरिएको सम्मान कार्यक्रममा प्रेस युनियन चितवनका नवनिर्वाचित अध्यक्ष अनिल ढकाल सहित १७ जना पदाधिकारीहरु सम्मानित हुनुभएको हो ।

रेडियोले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै युनियनका अध्यक्ष ढकालले आफू समग्र चितवन जिल्लाको पत्रकारिताको विकास र श्रमजिवी पत्रकारहरुको हकहितमा समर्पित रहने विचार व्यक्त गर्नुभयो । रेडियोले गरेको सम्मानले अझ बढी जिम्मेवार बनाएको समेत उहाँले विचार व्यक्त गर्नुभयो । साथै कार्यक्रममा रेडियो भरतपुरका अध्यक्ष एवं प्रबन्ध निर्देशक नवीनराज पौडेलले नवनिर्वाचित पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना दिनुहुँदै सम्पूर्ण पत्रकार एवं संचारकर्मीहरुसँग सहकार्यको माध्यमबाट अगाडि बढ्ने विचार व्यक्त गर्नुभयो । साथै उहाँले श्रमजिवी पत्रकारहरुको हक, हितको पक्षमा रेडियो भरतपुर सँधै लागिपर्ने समेत बताउनुभयो ।

रेडियो भरतपुरका अध्यक्ष एवं प्रबन्ध निर्देशक नवीनराज पौडेलको अध्यक्षमा सम्पन्न कार्यक्रममा रेडियोका कार्यकारी निर्देशक सि पि सुवेदीले स्वागत मन्तव्य राख्नुभएको थियो भने रेडियोका स्टेशन ईन्चार्ज माधव सापकोटाले सहजीकरण गर्नुभएको थियो ।