प्रधानन्यायाधीश मिश्र सर्वोच्चमा पेशी तोकेर परिवारसहित रारा भ्रमणमा

काठमाडौँ,३० कात्तिक प्रधानन्यायाधीश ओमप्रकाश मिश्र शुक्रबार बिहानै अन्य सहकर्मी न्यायाधीशहरुलाई पेशी तोकेर आफू परिवारसहित हेलिकोप्टर चढेर रारा भ्रमणमा निस्किएका छन्।

शुक्रबार दिउँसो ३ बजेसम्म अदालतको इजलास सञ्चालन हुने भएकाले अन्य न्यायाधीशलाई उनले पेशी तोकेका छन्। आज सर्वोच्चमा एकल सहित ९ वटा इजलास तोकिएको छ। उक्त भ्रमणलाई उच्च अदालत सुर्खेत, जुम्ला इजलासको निरीक्षण भनिएको छ।

आज १ सय ३१ वटा मुद्दा पेशीमा रहेका छन्।

लामो समयदेखि रोकिएको संवैधानिक इजलास बुधवारबाट मात्र सुरु भएको छ। साताको दुईतिर चल्नुपर्ने संवैधानिक इजलास लामो समयपछि गठन भए पनि एक दिनमात्र पेशी तोकियो।

प्रधानन्यायाधीश मिश्रले ‘अदालतको निरीक्षण’ उल्लेख भएको उक्त भ्रमणका श्रीमती, छोरी, ज्वाइँ र भतिजोसमेत रहेको सर्वोच्च स्रोतले जनाएको छ। सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार राजन भट्टराईको परिवारसमेत रारा भ्रमणमा निस्केको स्रोतले जनाएको छ।

अदालत अनुगमनका लागि यसअघि परिवार र आफू नजिक रहेका व्यक्तिहरु लैजाने चलन छैन। जिल्ला अदालतहरुको भ्रमणका लागि प्रधानन्यायाधीश, अदालतका कर्मचारी र मातहत उच्च अदालतमा न्यायाधीश सानो संख्यामा जाने चलन थियो। तर मिश्रले १६ जनाको जम्बो टोली बोकेर सर्वोच्च अदालतको खर्चमा भ्रमणामा निस्केका हुन्।

यसअघि कामु प्रधानन्यायाधीश रहेको समयमा सेनाको हेलिकोप्टर लिएर दीपकराज जोशी पनि पेशी तोकेर दोलखाको भीमेश्वर दर्शनमा परिवारका सदस्यसहित निस्केका थिए।

करिब डेढ महिना कार्यकाल बाँकी रहेका मिश्रले पनि असअघिका प्रधानन्यायाधीश जस्तै मितव्ययीतालाई मिचेर परिवारसहित अदालतको कर्मचारी बाहेकका व्यक्तिलाई लिएर भ्रमण गराएका हुन्।

सेनाको होलिकप्टरमा गएको मिश्र टोली सुर्खेत-रारा हुँदै जुम्ला पुगेर आजै ३ः४५ मा फर्कने कार्यक्रम रहेको छ।

बिहान ६ः३० बजे उनीहरुको टोली काठमाडौंबाट सुर्खेत प्रस्थान गरेको थियो।

जोशीको यस्तो कदमपछि अदालतमा आलोचना भएको छ। प्रधानन्यायाधीश हुँदैमा उनले सेनाको हेलिकोप्टरमा गरेको भ्रमणले अदालत मितव्ययी नहुने भनी न्यायाधीशहरुले नै आलोचना गरेका छन्।

रारा भ्रमणका बारेमा जिज्ञासा राख्न खोज्दा सर्वाेच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेल सम्पर्कम आएनन्। पटकपटक कल गर्दा पनि उनको मोबाइल उठेन।

कोको छन् टोलीमा? 
-प्रधानन्यायाधीश ओमप्रकाश मिश्र
-श्रीमती, भतिजो, ज्वाइँ
-सहप्रवक्ता नागेन्द्र कालाखेती
-मुख्य रजिष्ट्रार राजन भट्टराई
-श्रीमती करुणा भट्टराई कोइराला
-रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायकी श्रीमती
-निजी सचिव खड्ककृष्ण पोखरेल लगायत