१० बर्ष अघि सम्पन्न हुनुपर्ने पुल निर्माण अझै हुनु सकेन

काठमाडौँ, ३० कात्तिक । निर्माणकालागि ठेक्का दिएको १ हजार १ सय ६४ वटा पुलमा सरकारले न्युन बजेट बिनियोजन गर्दा बर्षौदेखि अलपत्र परेको छ । बजेटको अभाव र ठेकेदारको ढिलासुस्तीको कारण १० बर्ष अघि सम्पन्न हुनुपर्ने पुल निर्माण हुन सकेको छ ।

पुल महाशाखाको अनुसार देशभर १ हजार १ सय ६४ वटा पुल निर्माणाधिन अवस्थामा रहेका छन । बजेट अभावमा दुई बर्षदेखि पुलको माग भएको क्षेत्रमा सर्भेको काम समेत पुल महाशाखाले बन्द गरेको छ ।
पुल महाशाखाका प्राविधिक बिमल बस्नेतका अनुसार रणनीतिक सडक पुल अन्तर्गत २ हजार ५३ वटा र स्थानीय सडक पुल अन्तर्गत ९सय ११ वटा पुल निर्माणाधिन अवस्थामा रहेका छन् ।

बस्नेतले नेपाल समाचारपत्रसँग भन्नुभयो–निर्माणाधिन पुल निर्माण सम्पन्न गर्नकालागि दुई बर्षदेखि नयाँ पुलको सर्भे र ठेक्का रोकिएको छ ।’ देशभरबाट तीन हजार भन्दा बढी पुलको माग रहेको बताउदै उहाँले समयमा नै पुल निर्माण हुन नसक्नुमा ठेकेदारको ढिलासुस्ती र आवश्यक बजेटको अभाव रहेको उहांले बताउनुभयो । पुल महाशाखाका तथ्याङ अनुसार गत २०७४÷०७५ मा ५५ पुल पुल मात्र निर्माण सम्पन्न भएको छ ।

एउटा पुल निर्माण गर्नकालागि न्युनतम १५करोड लाग्ने भएपनि सरकारले हरेक बर्ष एउटा पुल निर्माणकालागि १५ देखि ३० लाख मात्र छ्ट्याउने गरेका कारण तोकिएको समयमा पुल निर्माण हुन नसकेको महाशाखाले दावी गरेको छ । सरकारले यस आर्थिक बर्षमा रणनीतिक सडक पुल निर्माणकालागि ३ अर्ब ४० करोड, स्थानीय सडक पुल निर्माण गर्नको लागि २ अर्ब ९० करोड रुपैयाँ विनियोजन गरेको छ ।
आजको नेपाल समाचारपत्रमा खबर छ ।