डेरी उद्योगका लागि जनप्रतिनिधीसंग अन्र्तक्रिया

चितवन कार्तिक २८ । खैरहनी नगरपालिका १० शान्तिवजार स्थित नन्दिनी दुग्ध उत्पादक सहकारी संस्थाले डेरी उद्योग संचालनका लागि यहाँका जनप्रतिनिधीहरुसंग अन्र्तक्रिया गरेको छ । दुधको विविधिकरणविना पशुपालन व्यवासाय दिगो नहुने भएकाले मिनी डेरी उद्योग निर्माणका लागि खैरहनीका मेयर,वडाध्यक्ष र सदस्यहरुसंग सहकारीले अन्र्तक्रिया गरेको हो । सो अवसरमा संस्थाका निवर्तमान अध्यक्ष वालकृष्ण उप्रेतीले पशुपालन व्यवसायलाई दिगो वनाउन डेरी उद्योग आवश्यक रहेको वताए ।

धेरै जसो कृषकहरु पशुपालनमै निर्भर छन् निवर्तमान अध्यक्ष उप्रेतीले भने – व्यवसायलाई दिगो र दुधको उचित मुल्यका लागि डेरी उद्योग अपरिहार्य छ । उप्रेतीका अनुसार ४ सय शेयर सदस्य रहेको सहकारीमा आवद्ध मध्ये ५० भन्दा वढि कृषक पशुपालनमै निर्भर छन् ।

सो सहकारीको पाँच हजार लिटर क्षमताको चिलिङ भ्याट छ भने दुध संकलनका लागि आफ्नै गाडी समेत छ । सहकारीका पदाधिकारी तथा सदस्यहरुले प्रधानमन्त्री कृषि आधुनिनिकरण परियोजना मार्फत डेरी स्थापनाका लागि पहल गरिदिन खैरहनीका मेयर लालमणी चौधरीलाई आग्रह गरे ।

सो अवसरमा मेयर चौधरीले डेरीलाई उद्योगको रुपमा विकास गर्नु सकारात्मक रहेको भन्दै नगरपालिकाका तर्फबाट आवश्यक सहयोग गर्ने वताए । अगामी तीन वर्ष भित्र डेरी उद्योग स्थापना गर्ने उनको प्रतिवद्धता थियो । संस्थाका अध्यक्ष कमलराज थपलियाको अध्यक्षतामा भएको अन्र्तक्रिया कार्यक्रममा खैरहनी १० का वडाध्यक्ष कारीराम चौधरी, ७ का वडाध्यक्ष मनेजर चौधरी, खैरहनी १० का वडा सदस्य रामद्धिन चौधरी लगायतको उपस्थिती रहेको थियो ।