चाइनाबाट गाई ल्याउने सरकारी तयारीको बिरोध

चितवन, २८ कात्तिक । नेपालमा नै उत्पादन भएको दूध बिक्री नभइरहेको अवस्थामा प्रदेश सरकारले चाइनाबाट गाई भित्र्याउनका लागि गरेको तयारीको विरोध गरिएको छ ।
गण्डकी प्रदेश सहित प्रदेश नम्बर २ र ३ को सरकारले चाइनाबाट १० हजार वटाका दरले गाई भित्र्याउन लागेको भन्दै चितवनका किसानहरुले विरोध जनाएका छन् । बुधबार भरतपुरमा पत्रकार सम्मेलन गरि किसानहरुले नेपालमा नै उन्नत जातका गाईहरु उत्पादन भइरहेको अवस्थामा चाइनाबाट कमिशनको लागि गाई भित्र्याउन लागिएको आरोप लगाए । किसानहरुले उत्पादन गरिरहेको दूध नै बिक्री नभएको अवस्थामा चाइनाबाट गाई ल्याउनुभन्दा किसानलाई अनुदान दिनुपर्ने व्यवसायिक दुग्ध उत्पादक कृषक समाज रत्ननगरका अध्यक्ष किशोर बगालेले बताए ।
पशुपालक किसानहरुलाई दूध उत्पादनमा लाग्न राज्यले प्रेरणादायी भूमिका खेल्दै अघोषित मिल्क होलीडे बन्द गरि किसानले उत्पादन गरेको दूध बिक्री हुन अवस्था सिर्जना गरेमा नेपालमा नै ३० लिटरसम्म दूध दिने गाई उत्पादन गर्न सकिने व्यवसायिक दुग्ध उत्पादक कृषक समाजका केन्द्रीय अध्यक्ष आनन्द न्यूरेले बताए । चाइनाबाट गाई भित्र्याउन गरिएको निर्णय फिर्ता नभएमा आफूहरुले पालेका चौपायासहित प्रत्येक स्थानीय तहबाट आन्दोलनमा उत्रिने न्यूरेको भनाइ छ । किसानको मागलाई सम्बोधन नगरिएमा गाई, भैँसी स्थानीय सरकारको कार्यालयमा लगेर बाध्ने चेतावनी दिएका छन् ।