चीनसँग उडान अनुमति माग्दै सरकार

काठमाडौँ, २७ कात्तिक । सरकारले नेपाल वायुसेवा निगमका विमानलाई चीन उडानको अनुमति दिन चीन सरकारसंग आग्रह गरेको छ ।
मंगलबार सिंहदरबारमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी र चीनका पर्यटन तथा संस्कृति मन्त्री लु शुगाङबिच भएको दुईदेशिय मन्त्रीस्तरीय छलफलका क्रममा मन्त्री अधिकारीले यस्तो आग्रह गरेका हुन् । छलफलमा चिनियाँ मन्त्री शुगाङले अधिकारीको प्रस्ताव चीनका सम्बन्धित निकायमा बहसका लागि प्रस्तुत गर्ने प्रतिक्रिया दिएका छन् । छलफलका क्रममा बिगतमा भएका सहयोगको कार्यान्वयन तथा नेपाल चीन सम्बन्धका बारेमा बिस्तृत छलफल भएको मन्त्री अधिकारीले जानकारी दिए ।
त्यस्तै पर्यटन भ्रमण बर्ष २०२० का सन्दर्भमा नेपालमा पर्यटन प्रवद्र्धन लागी चीनले सहयोग गर्ने दुईपक्षिय सहमति भएको उहाले जानकारी दिए । विश्व सम्पदा सूचिमा रहेका ऐतिहासिक धरोहरको पुननिर्माण कार्यलाई थप सहयोग गर्ने प्रतिवद्धता पनि चीनले गरेको मन्त्री अधिकारीले बताए । छलफलका क्रममा पर्यटन मन्त्री अधिकारीले नेपालका विभिन्न विमानस्थल निर्माण तथा सुधारमा चीनले उपलब्ध गराएको सहयोगका लागि आभार प्रकट गरेका थिए ।