कात्तिक नाच सुरु

काठमाडौँ, २७ कात्तिक । ऐतिहासिक र धार्मिक महत्व रहेको ललितपुर पाटनको प्रसिद्ध कात्तिक नाच शुरु भएको छ । नाचको पहिलो दिन मंगलबार राती बाथ प्याँख नाचअन्तर्गतको (सेव लायगु) देखाइएको छ ।
प्रत्येक दिन राती कात्तिक डबलीमा नाच देखाइने गरिएको छ । बाह्र दिनसम्म चल्ने नाचमा झण्डै एक सय जना सहभागी हुने समितिका अध्यक्ष किरण चित्रकारले जानकारी दिए । यो वर्ष सात वर्षपछि ल्यब लायगु र खुशी छिकेगु देखाइने भएको छ । विसं १६९७ मा राजा सिद्धिनरसिंह मल्लले यो नाच शुरु गरेका हुन् ।
कृष्णभक्त राजा भएकाले उनले कृष्ण मन्दिर निर्माण गर्नुका साथै कृष्णलीलामा आधारित नाचको शुरु गरेका थिए । यस नाचमा तान्त्रिक विधिको प्रयोग हुने गरेको छ । कलाकारलाई दैविक शक्तिप्राप्ति हुने सहभागी कलाकार बताउँछन् ।
यो नाचको अवधि घट्ने बढ्ने भइरहेको छ । विसं २००७ मा भने नाच सञ्चालन नै हुन सकेन । केही वर्ष पहिलेसम्म आठदेखि १० दिन हुनेमा चार वर्ष पहिलेदेखि १२ दिनसम्म चलिरहेको छ ।